कुलेखानी जलाशय भरिन लागेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह


काठमाडौं – लगातारको वर्षाका कारण कुलेखानी जलाशय भरिन लागेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जलाशयमा पानीको सतह १ हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ। यसको अधिकतम भण्डारण क्षमता १ हजार ५३० मिटर रहेको छ।

कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले जलाशयको सतह तीव्र गतिमा बढिरहेको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले केही घण्टामै जलाशयको सतह १ हजार ५२८ मिटर नाघ्न सक्ने भन्दै तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।

उनले नदीकिनारबाट टाढा अग्लो र सुरक्षित स्थानमा बस्न तथा आयोजनाबाट जारी हुने सूचना र मोबाइलमा प्राप्त एसएमएसमा उल्लेखित निर्देशन पालना गर्न अनुरोध गरेका छन्।

जलाशयको सतह सन्तुलित राख्न आवश्यक परे बाँधका ढोका खोल्नुपर्ने हुन सक्ने भन्दै जलविद्युत् केन्द्रले चेतावनी जारी गरेको छ। ढोका खोल्नुअघि चेतावनीस्वरूप साइरन बजाइने केन्द्रका प्रमुख राउतले बताएका छन्।

साथै, देउराली–सिस्नेरी सडकखण्ड प्रयोग गर्दा समेत सावधानी अपनाउन आग्रह गरिएको छ।