चार दशकको विरासत बोकेका भुवन केसी, ‘बाटुलो जुन’बाट फेरि किन चर्चामा ?


काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा चार दशकभन्दा लामो यात्रा पूरा गरेका अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी फेरि एकपटक चर्चामा छन्। अभिनयदेखि निर्माण र निर्देशनसम्म आफ्नो छुट्टै पहिचान बनाएका भुवनको नयाँ निर्देशकीय चलचित्र ‘बाटुलो जुन’ आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउँदैछ।

नेपाली चलचित्र क्षेत्रमा भुवन केसी एउटा नाम मात्रै होइनन्, उनीसँग जोडिएको लामो फिल्मी विरासत पनि हो। ‘जुनी’ चलचित्रबाट नायकका रूपमा रजतपटमा प्रवेश गरेका भुवनले चार दशकभन्दा लामो यात्रामा दर्शकलाई अनेकौँ यादगार चलचित्र दिएका छन्। उनले अभिनय गरेका चलचित्रले नेपाली फिल्म बजारमा व्यावसायिक सफलता मात्र हासिल गरेनन्, दर्शकको मनमा पनि छुट्टै छाप छाडेका छन्।

नेपाली चलचित्र इतिहासमा सिल्भर जुब्ली अर्थात् २५ हप्तासम्म प्रदर्शन हुने सफलता हासिल गरेका चार चलचित्रमध्ये तीनवटामा भुवन केसीको अभिनय रहेको बताइन्छ। ‘चिनो’, ‘सम्झना’ र ‘कुसुमे रुमाल’ले सिल्भर जुब्ली मनाएका थिए। उनका थुप्रै चलचित्रले ५१ दिन र सय दिनको प्रदर्शन यात्रा पनि पूरा गरेका छन्।

‘करोडपति’, ‘तृष्णा’, ‘बादलपारि’ लगायतका चलचित्रमा भुवनले निर्वाह गरेका भूमिका आज पनि दर्शकको स्मृतिमा छन्। नायकका रूपमा लोकप्रियता कमाएका उनले चलचित्र निर्माणमा समेत नयाँ प्रयोग र शैली भित्र्याउने प्रयास गरे।

‘सपना’, ‘करोडपति’, ‘नेपाली बाबु’, ‘म तिमीविना मरिहाल्छु’, ‘साथी म तिम्रो’, ‘ड्रिम्स’ र ‘क्याप्टेन’ जस्ता चलचित्र उनको निर्माण यात्राका महत्त्वपूर्ण उदाहरण हुन्। कथावस्तुको छनोट, प्रस्तुतिको शैली र मेकिङमा उनले समयअनुसार फरक प्रयोग गर्ने प्रयास गरेका छन्।

‘करोडपति’बाट बदलेको थियो फिल्मी धार

नेपाली चलचित्रमा गाउँले परिवेशका कथा र स्थापित नायकको लोकप्रियतामाथि बढी भर पर्ने प्रवृत्ति रहेका बेला भुवनले ‘करोडपति’ निर्माण गरेका थिए। आधुनिक सहरी परिवेशको कथामा बनेको यो चलचित्र सुरुमा वितरकको प्राथमिकतामा समेत पर्न सकेन। नयाँ शैलीको कथामा लगानी गर्नु जोखिमपूर्ण भन्दै भुवनको आलोचना पनि भयो।

तर, चलचित्रले प्रदर्शनपछि दर्शकको राम्रो साथ पायो। सय दिनको प्रदर्शन यात्रा पूरा गरेको ‘करोडपति’ले भुवनलाई व्यावसायिक रूपमा समेत ठूलो सफलता दिलायो। यस चलचित्रलाई नेपाली फिल्ममा फरक धारको प्रयोगका रूपमा पनि सम्झिने गरिन्छ।

अभिनय र निर्माणमा सफलता हासिल गरिसकेपछि भुवनले निर्देशनमा पनि हात हाले। उनले निर्देशन गरेको ‘ड्रिम्स’ले नेपाली चलचित्रको मेकिङ, दृश्य प्रस्तुति र युवा प्रेमकथाको शैलीलाई लिएर चर्चा पायो। चलचित्रको प्राविधिक पक्ष र प्रस्तुति आज पनि फिल्मकर्मी तथा दर्शकमाझ चर्चाको विषय बन्ने गरेको छ।

‘ड्रिम्स’पछि ‘बाटुलो जुन’मा भुवनको नयाँ प्रयोग

‘ड्रिम्स’पछि लामो समय लगाएर भुवनले निर्देशन गरेको नयाँ चलचित्र ‘बाटुलो जुन’ अहिले चर्चामा छ। चलचित्रले गाउँकै परिवेशलाई फरक कथावस्तु र नयाँ शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको बताइएको छ।

चार दशकभन्दा लामो फिल्मी यात्रामा अनेकौँ उतारचढाव पार गरेका भुवनका लागि ‘बाटुलो जुन’ अर्को महत्त्वपूर्ण परीक्षा पनि हो। उनी यस चलचित्रमार्फत आफ्नो पुरानो विरासतलाई निरन्तरता दिन्छन् वा नयाँ उचाइमा पुर्‍याउँछन् भन्ने चासो फिल्म क्षेत्रमा बढेको छ।

नेपाली चलचित्रले नयाँ कथा, प्रस्तुति र मेकिङको खोजी गरिरहेको समयमा ‘बाटुलो जुन’ले कस्तो प्रभाव पार्छ भन्ने कुरा प्रदर्शनपछि नै थाहा हुनेछ। आगामी कात्तिक २६ गतेबाट दर्शकमाझ आउने यो चलचित्रलाई लिएर भुवनका प्रशंसक र फिल्मप्रेमीको प्रतीक्षा बढ्दो छ।