‘पहिले पक्राउ गर, पछि छोड’- लाइक घटेपछि पत्रकार रिहा गरिएको गगन थापाको दाबी


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केही व्यक्तिलाई पक्राउ गर्ने र पछि छोड्ने घटनालाई सामाजिक सञ्जालमा आउने प्रतिक्रियासँग जोडेर टिप्पणी गरेका छन्।

उनले केही व्यक्तिबीच पत्रपत्रिकामा प्रकाशित समाचारबारे छलफल हुँदा ८–१० जनालाई पक्राउ गर्न निर्देशन दिइएको र पछि सामाजिक सञ्जालमा लाइक घटेको भन्दै उनीहरूलाई छोड्न भनिएको हुन सक्ने दाबी गरेका हुन्।

थापाले भने, ‘केही ठाउँमा साथीहरू बस्नुभयो, पत्रपत्रिकामा आएका समाचारहरूबारे कुराकानी गर्नुभयो। कुराकानी गर्दै जाँदा सायद यस्तो कुरा आयो होला, ल, केटाहरू उठाइदे, आज केटाहरूलाई उठाइदे। को–कोलाई उठाउने भन्ने भएपछि ८–१० जनालाई आजै उठाइदे भन्ने कुरा भयो। फोन गयो र उठाउने काम भयो।’

उनले केही समयपछि पुनः अर्को व्यक्तिले सामाजिक सञ्जालमा लाइक घटेको देखेपछि पक्राउ परेकालाई छोड्न निर्देशन दिएको हुन सक्ने बताए।

‘केही समयपछि फेरि अर्को साथीले हेर्नुभयो होला, ए, लाइक घट्यो, घट्यो, घट्यो। छोड्दे, छोड्दे, छोड्दे भन्ने कुरा भयो र फेरि छोडिदियो,’ थापाले भने।

थापाले कुनै विषयमा व्यापक चर्चा र विरोध हुन थालेपछि त्यसबाट ध्यान अन्यत्र मोड्न नयाँ विषय ल्याउने प्रयास हुने गरेको टिप्पणी पनि गरे।

‘यस विषयमा व्यापक चर्चा–परिचर्चा हुन थाल्यो, विरोध हुन थाल्यो। त्यसपछि अब नयाँ विषय दिनुपर्छ, नयाँ विषय चाहियो, विषयान्तर गर्नुपर्छ भन्ने भयो। विषयान्तर गर्नका लागि अर्को एउटा विषय ल्याइयो,’ उनले भने।

थापाले पछिल्ला घटनाक्रमलाई आफूहरूले नजिकबाट हेरिरहेको पनि बताएका छन्।