काठमाडौँ । विपक्षी दलहरूले सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको आरोप लगाउँदै तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न माग गरेका छन्। सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले संसद् अधिवेशन तत्काल बोलाउन माग गर्ने निर्णय गरेको हो।
बैठकपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाम्बेले सुनसरीको कप्तानगञ्जमा भएको घटना, गृहमन्त्रीको सम्पत्तिसम्बन्धी प्रतिवेदन सार्वजनिक नगरिएको विषय र सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको विषयमा छलफल भएको जानकारी दिए।
सरकारले अध्यादेशबाट शासन गर्न खोज्दा संसद्को औचित्यमाथि नै प्रश्न उठ्ने अवस्था आएको आङ्दाम्बेको भनाइ थियो। त्यसैले संघीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न माग गर्ने निर्णय गरिएको उनले बताए।
विपक्षी दलहरूले संसद् अधिवेशन बोलाएर समसामयिक विषयमा छलफल गर्नुपर्नेमा जोड दिएका छन्। बैठकमा उठाइएका विषय र संसद् अधिवेशन आह्वानको मागबारे सरकारले के प्रतिक्रिया दिन्छ भन्ने स्पष्ट भइसकेको छैन।

















प्रतिक्रिया