दीपक भट्टको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चमा सुनुवाइ सुरु


काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बिचौलिया दीपक भट्टको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।

भट्टको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो।

भट्टका बाबु चतुर्भुज भट्टले दर्ता गराएको उक्त निवेदन यसअघि गत कात्तिक १३ गते न्यायाधीशद्वय सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा परेको थियो। तर, सो दिन हेर्न नभ्याइने भएपछि सुनुवाइ हुन सकेको थिएन।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले गत असार ३ गते दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले दुवै जनालाई थुनामा राख्ने निर्णय गरेको थियो।

उक्त आदेशविरुद्ध गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित गत असोज ७ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरिएको थियो।

यसअघि असोज ८ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले विपक्षी विशेष अदालत, प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोलगायतका निकायलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।