परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशसचिव मिश्रीबीच भेटवार्ता


काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्रीले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–भारतबीचको बहुआयामिक साझेदारीलाई थप विस्तार तथा गहिरो बनाउने विषयमा छलफल भएको छ । साथै, दुई देशबीच लामो समयदेखि कायम रहेको मित्रतापूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा दुई देशबीचको आपसी सहकार्य र साझा हितका विषयमा समेत छलफल भएको मन्त्रालयको भनाइ छ ।

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तयारी भइरहेका बेला भारतीय विदेशसचिव मिश्री नेपाल आएका हुन् । उनको भ्रमणलाई नेपाल–भारतबीच उच्चस्तरीय संवाद तथा द्विपक्षीय सम्बन्धका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ ।