पोर्चुगल। पोर्चुगलका विश्वविख्यात फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले सक्रिय अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् ।
सामाजिक सञ्जालमा पाँच मिनेट लामो भिडियो सार्वजनिक गर्दै रोनाल्डोले राष्ट्रिय टोलीबाट लगाउँदै आएको चर्चित ७ नम्बर जर्सी भावी पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका छन् । उनले भिडियोमा पोर्चुगिज भाषामा आफ्नो धारणा राखेका छन् भने अंग्रेजी सबटाइटलसमेत राखिएको छ ।
‘मैले कहिल्यै पनि यो केवल मेरो मात्र हो भन्ने महसुस गरिनँ । तर, २३ वर्षसम्म यसलाई लगाउने, यसको रक्षा गर्ने र विश्वभरका रङ्गशालाहरूमा यसलाई आफूसँगै लैजाने अवसर तथा जिम्मेवारी मैले पाएँ । आज मैले यसलाई भावी पुस्तालाई हस्तान्तरण गर्ने बेला आएको छ,’ उनले भनेका छन् ।
पोर्चुगलको राष्ट्रिय टोलीबाट २३ वर्षसम्म खेलेका रोनाल्डोले २३४ खेलमा १४६ गोल गरेका छन् । राष्ट्रिय टोलीका लागि लामो समयसम्म योगदान दिएका उनले आफ्नो खेलजीवनको महत्वपूर्ण अध्यायलाई बिदाइ गरेका हुन् ।
रोनाल्डोको ७ नम्बर जर्सी पोर्चुगलको फुटबल इतिहाससँग जोडिएको पहिचान बनेको छ । अब उक्त जर्सी भावी पुस्ताका खेलाडीलाई हस्तान्तरण गर्ने उनको घोषणासँगै अन्तर्राष्ट्रिय फुटबलमा उनको यात्राले पूर्णविराम पाएको छ ।

















प्रतिक्रिया