चुमनुब्रीका स्थानीयलाई महँगो नुनको मार, प्रतिकिलो २०० रुपैयाँ तिर्नुपर्ने


गोरखा । बजारमा प्रतिप्याकेट ३० देखि ३५ रुपैयाँमा पाइने नुन गोरखाको उत्तरी भेगका विकट बस्तीमा भने २०० रुपैयाँसम्म पर्ने गरेको छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दा नुनसहित दैनिक उपभोग्य वस्तु महँगो मूल्यमा किन्न बाध्य छन् ।

नेपालमा खानेनुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो २६ रुपैयाँ, न्यू शक्ति नुनको २० रुपैयाँ र भानु नुनको नौ रुपैयाँ तोकेको छ । तर, हिमालपारिको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा आयो नुनको मूल्य प्रतिप्याकेट ६० देखि २०० रुपैयाँसम्म पर्ने गरेको छ । गाउँ जति विकट छ, नुनको मूल्य पनि त्यति नै महँगो छ ।

मनास्लु क्षेत्रअन्तर्गत तिब्बती सीमावर्ती सामागाउँ र साम्दोमा एक प्याकेट आयो नुनको मूल्य २०० रुपैयाँ पर्छ । तल्लो क्षेत्रमा ३० रुपैयाँमा पाइने एक प्याकेट नुन साम्दोसम्म पुर्‍याउन ढुवानीमै १०० रुपैयाँ खर्च हुने स्थानीय निमा दोर्जेले बताए ।

उनका अनुसार पाङसिङबाट साम्दोसम्म एक प्याकेट नुन ल्याउँदा ढुवानी भाडामात्रै १०० रुपैयाँ लाग्छ । आरुघाट र आर्खेटबाट पाङसिङसम्मको ढुवानी खर्चसमेत जोड्दा मूल्य अझ बढ्छ । पसलेले पाँचदेखि १० रुपैयाँ नाफा राख्दा एक प्याकेट नुनको मूल्य २०० रुपैयाँ पुग्ने उनको भनाइ छ ।

सामागाउँभन्दा केही तल वडा नम्बर २ को ल्हो गाउँमा खाद्यान्न ढुवानी भाडा प्रतिकिलो ८० रुपैयाँ पर्ने भएकाले एक प्याकेट आयो नुनको मूल्य १५० रुपैयाँ पर्ने गरेको छ । गाउँपालिका–५ बिहीमा भने प्रतिप्याकेट १०० रुपैयाँमा नुन पाइने स्थानीय काल्देन छेवाङले बताए ।

उनका अनुसार पाङसिङदेखि बिहीसम्म खच्चडबाट सामान ढुवानी गर्दा हिउँदमा प्रतिकिलो २५ रुपैयाँ भाडा लाग्छ । त्यसबेला नुनको मूल्य १०० रुपैयाँ पर्छ । वर्षायाममा ढुवानी भाडा प्रतिकिलो ७० रुपैयाँसम्म पुग्ने भएकाले सामानको मूल्य पनि बढ्ने गरेको छ ।

वडा नम्बर ४ प्रोकमा पनि ढुवानी खर्चका आधारमा प्रतिप्याकेट नुनको मूल्य १०० देखि १७० रुपैयाँसम्म पर्ने स्थानीयवासीले बताएका छन् । चुम उपत्यकाका अन्तिम बस्ती छुले र निलेका बासिन्दाले भने एक प्याकेट आयो नुनको १८० देखि २०० रुपैयाँसम्म तिर्ने गरेका छन् ।

पाङसिङबाट डेढदेखि दुई दिनको पैदल दूरीमा रहेका ती बस्तीमा खच्चडबाट सामान ढुवानी गर्दा प्रतिकिलो ६० रुपैयाँ भाडा लाग्छ । लामागाउँसम्म प्रतिकिलो ५५ रुपैयाँ र छेकम्पारको छेकम गाउँसम्म ५० रुपैयाँ ढुवानी भाडा पर्ने लामागाउँका पासाङ फुन्जो लामाले जानकारी दिए ।

छेकम्पारका गाउँबस्तीमा एक प्याकेट आयो नुनको मूल्य १५० रुपैयाँ पर्छ । गाउँपालिका–६ चुम्लिङमा भने १०० रुपैयाँमा नुन पाइने स्थानीय गोपाल लामाले बताए । उनका अनुसार पाङसिङबाट चुम्लिङसम्म खाद्यान्न ढुवानी गर्दा प्रतिकिलो ३० रुपैयाँ भाडा लाग्छ ।

सरकारले विकट हिमाली क्षेत्रका बासिन्दालाई सहुलियत दरमा नुन उपलब्ध गराउन ढुवानी अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसको व्यवस्थापनको जिम्मेवारी साल्ट ट्रेडिङ कर्पोरेसनले पाएको छ ।

कर्पोरेसनले चालु आर्थिक वर्षमा उत्तरी गोरखाको सिर्दिबासका लागि ३५० क्विन्टल आयो नुन पठाएको गण्डकी प्रदेश प्रमुख सागर शेरचनले जानकारी दिए । उनका अनुसार कर्पोरेसनले प्रतिकिलो २८ रुपैयाँका दरले नुन पठाउने गरेको छ । पोखराबाट सिर्दिबाससम्म नुन ढुवानी गर्ने ठेकेदारलाई सरकारले ढुवानी खर्च उपलब्ध गराउँछ ।

तर, अनुदानमा पठाइएको नुन उत्तरी गोरखाका सबै विकट बस्तीमा पुग्न सकेको छैन । अनुदानको नुन सिर्दिबास क्षेत्रमै खपत हुने गरेको चुमनुब्री गाउँपालिका–७ छेकम्पारका पासाङ फुन्जो लामाले बताए ।

उनका अनुसार सरकारले जगतसम्म नुन पुर्‍याउन ढुवानी अनुदान दिने गरेको छ । तर, त्यहाँबाट सामागाउँ र साम्दो पुग्न चार दिन तथा छेकम्पार पुग्न तीन दिन लाग्ने भएकाले स्थानीयले महँगो खच्चड ढुवानी भाडा तिर्नुपर्ने अवस्था छ ।

चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिमदेखि केही माथि पेवासम्म नेपाली सेनाले सडकको ट्र्याक खोलेको छ । तर, मोटर भने पाङसिङसम्म मात्रै पुगेको छ । बेनिघाट–आरुघाट–लार्के सडकअन्तर्गत हावाडाँडादेखि चीनको सीमास्थित लार्के भञ्ज्याङसम्म सडकको ट्र्याक खोल्ने जिम्मा सेनाले पाएको छ ।

बजेट अभाव र स्रोत सुनिश्चितताको समस्याका कारण सडक निर्माणले गति लिन सकेको छैन । फलस्वरूप चुमनुब्री गाउँपालिका–३ सिर्दिबासबाहेक अन्य छवटा वडा अझै सडक सञ्जालको पहुँचबाट टाढा छन् ।

सडक पुगेको गाउँपालिकाको केन्द्र फिलिम र आसपासका क्षेत्रमा समेत प्रतिप्याकेट ३० रुपैयाँ पर्ने आयो नुनको मूल्य ६० रुपैयाँ पर्ने स्थानीय कुमारी गुरुङले बताइन् । आर्खेटबाट फिलिमसम्म खाद्यान्न आइपुग्दा ढुवानी खर्चका कारण मूल्य बढ्ने गरेको उनको भनाइ छ ।

मोटर पुगेको वडा नम्बर ३ पाङसिङभन्दा माथिका बस्तीमा खाद्यान्न ढुवानीको मुख्य साधन खच्चड हो । मनास्लु क्षेत्रका अन्तिम बस्ती सामागाउँ र साम्दोसम्म खच्चडबाट खाद्यान्न पुर्‍याउँदा प्रतिकिलो १०० रुपैयाँ ढुवानी भाडा लाग्ने सामागाउँका व्यवसायी वीरबहादुर लामाले जानकारी दिए ।