सडक दुर्घटनामा ६ जनाको मृ-त्यु, विभिन्न स्थानमा दुर्घटना


काठमाडौँ । देशका विभिन्न ६ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक बालकसहित ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा केही व्यक्ति घाइते भएका छन्।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सिरहा, बारा, धनुषा, नवलपरासी पूर्व, गोरखा र कास्कीमा भएका दुर्घटनामा ६ जनाले ज्यान गुमाएका हुन्।

प्रहरीका अनुसार सिरहाको गोलबजारमा मोटरसाइकल र ट्याक्टर एकापसमा ठोक्किँदा २२ वर्षीय लटल सदायको मृत्यु भएको छ। त्यस्तै, बाराको चुरियामाईमा ट्रक र मोटरसाइकल ठोक्किँदा २१ वर्षीय निराजन यादव तथा धनुषाको मिथिला बिहारीमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय राहुल साहको ज्यान गएको छ।

यसैगरी, नवलपरासी पूर्वको कावासोतीमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक महिनाका मायुस सारूको मृत्यु भएको प्रहरीले जनाएको छ। गोरखा नगरपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय महेश बानिया र पोखरा महानगरपालिका–६ जरेवरमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय देव तामाङको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न केही सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।