सिन्धुलीको भिमानमा ट्रक र स्कुटर ठोक्किएपछि आगलागी, दुई जना घाइते


काठमाडौँ । सिन्धुलीको भिमानमा ट्रक र स्कुटर एकआपसमा ठोक्किँदा ट्रकमा आगलागी भएको छ। शुक्रबार भएको दुर्घटनामा स्कुटरमा सवार दुई जना घाइते भएका छन् भने आगलागीबाट ट्रकमा लोड गरिएको करिब ८० प्रतिशत सामान जलेर नष्ट भएको छ।

काठमाडौँबाट ‘कृष्ण ट्रान्सपोर्ट’को सामान बोकेर इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२–ख १२३६ नम्बरको ट्रक र स्कुटर आपसमा ठोक्किएपछि ट्रकमा आगो लागेको हो।

दुर्घटनामा स्कुटरमा सवार हेमराज बख्रेल र सृजना अधिकारी घाइते भएका छन्। जिल्ला अस्पताल सिन्धुलीका अनुसार बख्रेलको स्वास्थ्य अवस्था सामान्य छ। उनको सोही अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। अर्की घाइते अधिकारीलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

यस घटनाप्रति सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले गम्भीर चासो व्यक्त गरेका छन्। दुर्घटनाको खबर प्राप्त हुनासाथ उनले सम्बन्धित निकायसँग घटनाबारे जानकारी लिनुका साथै आवश्यक छानबिन गरी प्रचलित कानुनअनुसार प्रक्रिया अघि बढाउन स्थानीय इलाका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन्।

सभापति गजुरेलले जिल्ला अस्पतालका प्रमुखसँग सम्पर्क गरी घाइतेहरूको स्वास्थ्य अवस्था र उपचार व्यवस्थापनबारे पनि जानकारी लिएका थिए। उनले घाइते दुवै जनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन, उचित उपचार र कानुनी प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।