काठमाडौं। ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ। बैंकको नयाँ कर्पोरेट भवन निर्माणका लागि बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज विधिवत् भूमिपूजा गर्दै शिलान्यास गर्नुभएको हो।

करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुने १२ तले उक्त भवन आधुनिक प्रविधि, सुविधा र वातावरणीय दिगोपनलाई प्राथमिकतामा राखेर तयार गरिने बैंकले जनाएको छ।

भवन निर्माणमा जमिनको स्थिरता र आसपासको सुरक्षालाई ध्यानमा राख्दै ‘सेक्यान्ट पाइलिङ’ प्रविधि प्रयोग गरिनेछ। त्यस्तै, वर्षाको पानी पुनःप्रयोग गर्ने प्रणाली (रेन वाटर हार्भेस्टिङ), सौर्य ऊर्जा प्रणाली तथा दुई तहको भूमिगत पार्किङको व्यवस्था गरिनेछ।

बैंकका अनुसार नयाँ कर्पोरेट भवनले संस्थागत कार्यसम्पादनलाई थप प्रभावकारी बनाउनुका साथै ग्राहकलाई प्रविधिमैत्री, सहज र गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुर्याउनेछ।
देशका ७७ वटै जिल्लामा वित्तीय पहुँच विस्तार गर्न सफल ग्लोबल आइएमई बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सम्मानसमेत प्राप्त गरिसकेको छ। नयाँ कर्पोरेट भवन निर्माणसँगै बैंकको संस्थागत क्षमता अभिवृद्धि हुनुका साथै नेपालको वित्तीय क्षेत्र र समग्र आर्थिक विकासमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।


















प्रतिक्रिया