युवालाई स्वदेशमै रोजगारी र उद्यममा जोड्न आठ अर्ब विनियोजन : मुख्यमन्त्री कार्की


सङ्खुवासभा । कोशी प्रदेश सरकारले युवालाई स्वदेशमै उद्यमशील बनाउन तथा रोजगारीका अवसर सिर्जना गर्न करिब आठ अर्ब रुपैयाँको व्यवस्था गरेको छ ।

प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उत्पादन वृद्धि र रोजगारीका समस्या समाधानलाई प्राथमिकतामा राख्दै युवालक्षित कार्यक्रम अघि बढाइएको जानकारी दिएका हुन् ।

सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशमै बसेर काम गर्न चाहने युवालाई लक्षित गरी चालु आर्थिक वर्षको बजेटमार्फत उक्त रकम व्यवस्था गरिएको बताए ।

उनका अनुसार साना तथा मझौला उद्यम सञ्चालन गर्न इच्छुक युवालाई तीन वर्षसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने गरी कार्यक्रम ल्याइएको छ । यसबाट युवालाई आफ्नै प्रदेशमा उद्यम गर्न प्रोत्साहन मिल्नुका साथै उत्पादन वृद्धि र रोजगारी सिर्जनामा सहयोग पुग्ने सरकारको अपेक्षा छ ।

मुख्यमन्त्री कार्कीले युवा उद्यमशीलताको प्रवर्द्धनमार्फत प्रदेशको अर्थतन्त्रलाई थप सुदृढ बनाउने सरकारको लक्ष्य रहेको बताए । युवालाई रोजगारी खोज्न विदेश जानुपर्ने अवस्था कम गर्दै आफ्नै प्रदेशमा अवसर सिर्जना गर्ने वातावरण निर्माणमा सरकार केन्द्रित रहेको उनको भनाइ छ ।

उनले चालु आर्थिक वर्षका लागि बजेटमार्फत विभिन्न महत्त्वपूर्ण नीति, कार्यक्रम तथा योजना अघि सारिएको उल्लेख गर्दै प्रदेश सरकारको विकास बजेट र स्रोतसाधन सीमित भएकाले अपेक्षाअनुसार सबै विकास निर्माणका काम गर्न कठिनाइ भइरहेको बताए ।

विगतका वर्षमा सडक सञ्जाल विस्तार तथा पूर्वाधार निर्माणका क्षेत्रमा महत्त्वपूर्ण आधार तयार भएको उल्लेख गर्दै उनले आगामी दिनमा नीतिगत सुधार र सुशासनलाई समेत प्राथमिकतामा राखेर काम गर्ने बताए ।

कोशी प्रदेशमा विकास, समृद्धि र सुशासनलाई प्राथमिकतामा राख्दै उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गर्ने सरकारको लक्ष्य रहेको मुख्यमन्त्री कार्कीले बताए ।