काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्यायाधीशको हैसियतमा अदालत प्रवेश गरेपछि राजनीतिक विचार र आस्थालाई बाहिरै राखेर न्याय सम्पादन गर्ने बताएका छन् ।
संसदीय सुनुवाइ समितिको बैठकमा एमाले सांसद पद्मा अर्यालले नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणलाई थुनामुक्त गर्ने आदेशबारे पाण्डेसँग जवाफ मागेकी थिइन् ।
जवाफमा पाण्डेले प्रत्येक व्यक्तिको कुनै न कुनै राजनीतिक विचारधारा हुने भए पनि न्यायाधीशको जिम्मेवारीमा पुगेपछि त्यसले न्याय सम्पादनमा प्रभाव पार्न नहुने बताए ।
‘हरेक प्राणी एक न एक राजनीतिक विचारधारा बोकेरै हिँडेको हुन्छ । तर म अदालतमा आइसकेपछि राजनीतिको चप्पल बाहिरै खोल्छु । न्यायाधीश भएपछि राजनीति गर्नु हुँदैन । राजनीतिको चप्पललाई टाढै राख्नुपर्छ,’ उनले भने ।
उनले बालकृष्ण खाँणको मुद्दा मात्रै नभई राजनीतिक पृष्ठभूमि भएका अन्य व्यक्तिसँग सम्बन्धित मुद्दामा पनि फैसला तथा आदेश दिएको बताए । न्यायाधीशको इजलासमा पुगेपछि राजनीतिक पक्षधरता नभई प्रमाण र मिसिलका आधारमा निर्णय हुने उनको भनाइ थियो ।
‘बेन्चमा बसेपछि राजनीति कता, के भन्ने यी सबै कुरा आउट हुँदो रहेछ । खाली प्रमाण के छ, मिसिल के छ भन्ने कुराहरू मात्रै हुन्छ,’ पाण्डेले भने ।

















प्रतिक्रिया