काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरेको छ ।
प्राधिकरणले सम्बन्धित ३२ जिल्लाका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट प्रमाणीकरण भई आएका विवरणका आधारमा बेपत्ता व्यक्तिको सूची सार्वजनिक गरेको हो ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३ जना बेपत्ता सूचीमा छन् । यसबाहेक धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा, कालीकोट, नवलपरासी पूर्व, उदयपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पश्चिम, तेह्रथुम, रुकुम पूर्व, सप्तरी, बर्दिया, स्याङ्जा, रामेछाप, दाङ, सिन्धुपाल्चोक र सिन्धुलीका बेपत्ता व्यक्तिको विवरण पनि सार्वजनिक गरिएको छ ।
त्यसैगरी, प्राधिकरणले सात देशका १७१ जना बेपत्ता विदेशी नागरिकको विवरणसमेत सार्वजनिक गरेको छ । बेपत्ता व्यक्तिको पूर्ण विवरण प्राधिकरणको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।
प्राधिकरणले सूचना जारी गर्दै सूचीमा समावेश व्यक्ति जीवित रहेको वा फेला परेको भए सम्बन्धित व्यक्ति वा एकाघरका परिवारका सदस्यलाई सात दिनभित्र दाबी पेस गर्न आग्रह गरेको छ ।
स्वदेशी बेपत्ता व्यक्तिको सूची स्थायी ठेगाना रहेको स्थानीय तहको सिफारिस र सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा तयार पारिएको प्राधिकरणले जनाएको छ ।
विदेशी नागरिकको हकमा भने सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्नेगरी तोकिएको नियोगबाट कन्सुलर सेवा विभागमार्फत प्राप्त विवरणका आधारमा सूची सार्वजनिक गरिएको हो ।
३२ जिल्लाबाहेकका बेपत्ता व्यक्तिको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएपछि तथा विदेशी नागरिकको थप विवरण नियोगबाट आएपछि पुनः सूचना प्रकाशन गरिने प्राधिकरणले जनाएको छ ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी हालसम्म एक हजार ४५७ जनाको मृत्यु भएको छ भने पाँच हजार २८५ जना बेपत्ता रहेको प्राधिकरणको तथ्याङ्क छ ।

















प्रतिक्रिया