बेइजिङ । चीनको अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी नागरिकका रूपमा एक पाकिस्तानी अन्तरिक्ष यात्रीले इतिहास रच्ने भएका छन् । उनी चीनको मानवसहितको अन्तरिक्ष अभियानअन्तर्गत ‘शेन्झोउ–२४’ अन्तरिक्ष यानको चालक दलमा सहभागी हुने भएका हुन् ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, चाइना म्यान्ड स्पेस एजेन्सीले पाकिस्तानी अन्तरिक्ष यात्रीले अन्तरिक्ष कक्षमा छोटो अवधिको उडान पूरा गर्ने जनाएको छ । त्यसपछि उनी ‘शेन्झोउ–२३’ अन्तरिक्ष यानमार्फत पृथ्वीमा फर्कनेछन् । यद्यपि, उनको अन्तरिक्ष यात्रा कहिले सुरु हुन्छ भन्ने मिति सार्वजनिक गरिएको छैन ।
यो मिसन चीनको मानवसहितको अन्तरिक्ष कार्यक्रमको इतिहासमा पहिलो संयुक्त उडान हुनेछ, जसमा चिनियाँ र विदेशी अन्तरिक्ष यात्री एकैसाथ सहभागी हुनेछन् । यसले चीन र पाकिस्तानबीचको अन्तरिक्ष सहकार्यलाई नयाँ चरणमा पुर्याउने अपेक्षा गरिएको छ ।
यसअघि यसै वर्ष सिन्ह्वाले दुई पाकिस्तानी अन्तरिक्ष यात्रीका उम्मेदवार मुहम्मद जीशान अली र खुर्रम दाउदले चिनियाँ अन्तरिक्ष यात्रीहरूसँगै तालिम सुरु गरेको जनाएको थियो । उनीहरूमध्ये एक जनालाई छोटो अवधिको अन्तरिक्ष मिसनका लागि पेलोड विशेषज्ञका रूपमा छनोट गर्ने योजना बनाइएको थियो ।
तालिममा अन्तरिक्ष यान सञ्चालनसम्बन्धी व्यावहारिक सीपसँगै चिनियाँ भाषाको गहन प्रशिक्षण पनि समावेश गरिएको थियो । यो उडान सन् २०२५ को फेब्रुअरीमा चीन र पाकिस्तानबीच भएको अन्तरिक्ष सहकार्यसम्बन्धी सम्झौताको हिस्सा हो ।
यसैबीच, चीनले सन् २०३० सम्ममा चन्द्रमामा पहिलोपटक मानवसहितको अवतरण गराउने लक्ष्य राखेको छ । अन्तरिक्ष अन्वेषणमा चीनको प्रमुख प्रतिस्पर्धीका रूपमा अमेरिकालाई हेरिँदै आएको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले भने सन् २०२८ मा चन्द्रमाको सतहमा अन्तरिक्ष यात्री अवतरण गराउने लक्ष्य राखेको छ ।

















प्रतिक्रिया