सर्वोच्च अदालतका लागि प्रस्तावित चारै न्यायाधीशको नाम अनुमोदित


काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । शुक्रबार बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र डा. रत्नबहादुर बागचन्दको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

समितिका सभापति बोधनारायण श्रेष्ठले चारै जनाको नाम अनुमोदन गरिएको जानकारी दिएका छन् ।

न्यायपरिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश रहेका उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । त्यसपछि उनीहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइएको थियो ।

सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित न्यायाधीशहरूसँग विभिन्न विषयमा प्रश्न गरेका थिए । चारै जनाको सुनुवाइ प्रक्रिया शुक्रबारसम्म सम्पन्न भएपछि समितिले उनीहरूको नाम अनुमोदन गरेको हो ।

संसदीय सुनुवाइबाट नाम अनुमोदन भएसँगै अब उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले उनीहरूलाई नियुक्त गर्नेछन् ।