जनकपुरधाम । जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालयको मातहतमा सञ्चालन हुने भएको छ। लामो समयदेखि सहरी विकास मन्त्रालयअन्तर्गत रहेको उक्त केन्द्रलाई विश्वविद्यालयको जिम्मामा दिने सरकारको निर्णयसँगै मिथिला भाषा, साहित्य, कला, संस्कृति तथा सभ्यताको अध्ययन र अनुसन्धानले नयाँ गति लिने अपेक्षा गरिएको छ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको पहलमा केन्द्रलाई विश्वविद्यालय मातहत ल्याउने प्रक्रिया अघि बढाइएको हो। यस निर्णयले मिथिला संस्कृतिको संरक्षण, संवर्द्धन र पुस्तान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
शनिबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै नेता निधिले केन्द्र विश्वविद्यालय मातहत सञ्चालन हुने निर्णयलाई ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरे। उनले यसलाई मिथिला संस्कृति र सभ्यताको अध्ययन तथा अनुसन्धानका लागि महत्त्वपूर्ण कदम भएको बताए।
‘आज मेरो लागि मात्र होइन, हामी सबैका लागि खुसी र गर्वको दिन हो,’ उनले भने।
निधिका अनुसार विगतमा सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुँदै आएको केन्द्रलाई विश्वविद्यालय मातहत ल्याउन आफूले निरन्तर पहल गर्दै आएका थिए। यस अभियानमा विभिन्न साथीहरू, विश्वविद्यालयका पदाधिकारी तथा सरकारी निकायको सहयोग रहेको उनले बताए।
उनले मिथिला संस्कृतिको अध्ययन, अनुसन्धान, पठनपाठन र प्रवर्द्धनका लागि विश्वविद्यालय नै सबैभन्दा उपयुक्त संस्था भएको उल्लेख गर्दै यस निर्णयले केन्द्रको उद्देश्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
यसैबीच, जनकपुरधामस्थित सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले केन्द्र विश्वविद्यालय मातहत सञ्चालन गर्ने सम्बन्धमा औपचारिक पत्रसमेत पठाइसकेको छ। यससँगै केन्द्रको प्रशासनिक तथा शैक्षिक व्यवस्थापन राजर्षि जनक विश्वविद्यालयले गर्ने बाटो खुलेको छ।
अब केन्द्रमा मिथिला संस्कृतिसँग सम्बन्धित अध्ययन, अनुसन्धान, पठनपाठन तथा शैक्षिक गतिविधि सञ्चालन गर्ने योजना अघि बढाइने अपेक्षा गरिएको छ। यसबाट मिथिलाको मौलिक कला, साहित्य, भाषा, लोकसंस्कृति, परम्परा तथा ऐतिहासिक सम्पदाको अभिलेखीकरण र संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ।
केन्द्रलाई विश्वविद्यालय मातहत ल्याउने निर्णयमा सहयोग पुर्याउने प्रधानमन्त्री बालेन्द्र साहसहित सम्बन्धित मन्त्री तथा सरकारी निकायलाई नेता निधिले धन्यवाद दिएका छन्। उनले नेपाल सरकार, प्रधानमन्त्री पुष्पकमल दाहाल, शिक्षामन्त्री, सहरी विकासमन्त्री तथा भूमिसुधार मन्त्रीप्रति पनि आभार व्यक्त गरे।
कार्यक्रममा निधिले राजर्षि जनक विश्वविद्यालय स्थापनाकालदेखि नै आफूले सक्रिय भूमिका निर्वाह गर्दै आएको स्मरण गरे। विश्वविद्यालयका पदाधिकारीसँगको समन्वयमा केन्द्र हस्तान्तरणको प्रक्रिया अघि बढाइएको उनले बताए।
विशेषगरी शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले स्थलगत निरीक्षणपछि देखाएको सक्रियताको उनले प्रशंसा गरे।
यसैबीच, विश्वविद्यालयमा नयाँ उपकुलपति श्यामनारायण लाभले पदभार सम्हालेसँगै शैक्षिक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रयास भइरहेको छ।
महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र विश्वविद्यालय मातहत आएपछि यसलाई मिथिला सभ्यता, संस्कृति र पहिचानको अध्ययन तथा अनुसन्धानको महत्त्वपूर्ण शैक्षिक केन्द्रका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ। तर यसको प्रभावकारी सञ्चालनका लागि आवश्यक जनशक्ति, बजेट, शैक्षिक कार्यक्रम र पूर्वाधार व्यवस्थापनमा समेत विशेष ध्यान दिनुपर्ने देखिन्छ।

















प्रतिक्रिया