कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले जलवायु परिवर्तन र विपद्का विषयमा अनुसन्धान तथा तथ्याङ्कमा आधारित पत्रकारिता अहिलेको आवश्यकता भएको बताएका छन्। उनले सम्भावित विपद्का जोखिम पहिचान गर्न, नागरिकमा पूर्वसचेतना फैलाउन र विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुने बताए।
अग्रलेख मल्टिमिडियाद्वारा आयोजित जलवायु पैरवी, विपद् व्यवस्थापन तथा डिजिटल सञ्चार, कृत्रिम बुद्धिमत्ता (एआई) र डेटामा आधारित पत्रकारिता तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा रहेको विपद् जोखिमबारे पत्रकारहरूले गहिरो अध्ययन र अनुसन्धानसहित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।
उनले प्रदेशका नदी तथा खोलानालाको आसपास ठूला बस्ती रहेकाले सम्भावित जोखिमलाई सामान्य रूपमा लिन नहुने बताए।
‘हाम्रा सहर र बस्तीहरू अहिले पनि नदी किनारमै छन्। चमेलिया, रङ्गुन, सेती, बूढीगङ्गा र कैलाश खोलाको आसपास ठूला बस्ती छन्। त्यहाँ ठूलो विपद् आयो भने के हुन्छ ?’ पत्रकारहरूलाई प्रश्न गर्दै उनले भने, ‘जलवायु र विपद्बारे अनुसन्धान तथा तथ्याङ्कमा आधारित पत्रकारिता आजको आवश्यकता हो।’
मुख्यमन्त्री भट्टले देशभर बाढी, पहिरो, डुबानलगायत विपद्का घटनाबाट ठूलो जनधनको क्षति भइरहेको उल्लेख गर्दै यस्ता घटनाको जोखिम न्यूनीकरणका लागि पत्रकारहरूले समयमै नागरिक र सम्बन्धित निकायलाई सचेत गराउनुपर्ने बताए।
‘१० वर्षे सशस्त्र द्वन्द्वभन्दा विपद्का घटनामा ३३ प्रतिशत बढी मानिसको ज्यान गएको छ,’ उनले भने, ‘अब त्यस्तो क्षति नहोस् भन्नका लागि तपाईंहरूले कलम चलाउनुपर्छ।’
उनका अनुसार जलवायु परिवर्तनको असर सुदूरपश्चिम प्रदेशमा समेत देखिन थालेको छ। तापक्रममा आएको परिवर्तन, कृषि उत्पादनमा देखिएको फेरबदल तथा पानीका मुहान सुक्दै जानु जलवायु परिवर्तनका प्रभावका रूपमा देखा परिरहेको उनले बताए।
‘अहिले स्याउ फल्ने ठाउँमा सुन्तला र आँप फल्न थालेका छन्। पानीका मुहानहरू सुक्दै गइरहेका छन्। तराईमा बसाइँसराइ बढ्नुको एउटा कारण जलवायु परिवर्तन पनि हो,’ उनले भने।
जलवायु परिवर्तनले कृषि, वातावरण, प्राकृतिक स्रोत तथा जनजीवनमा पारिरहेको प्रभावबारे गम्भीर समीक्षा र अध्ययन आवश्यक रहेको उनको भनाइ थियो। उनले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीलाई समयमै पहिचान गरी अनुकूलन तथा जोखिम न्यूनीकरणका उपाय खोज्न पत्रकारिताले सहयोग गर्नुपर्ने बताए।
मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा कृषि, पर्यटन, प्राकृतिक स्रोत तथा आर्थिक समृद्धिका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै प्रदेशका सकारात्मक पक्ष र सम्भावनालाई उजागर गर्न पनि पत्रकारहरूलाई आग्रह गरे।
‘यसलाई सम्भावनाको प्रदेश बनाउनुपर्छ। कृषि र आर्थिक समृद्धिका विषयमा तपाईंहरूले कलम चलाउनुहोस्,’ उनले भने, ‘जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा पत्रकारहरूले बढी चासो राख्नुपर्छ।’
उनले जलवायु परिवर्तनको असर विश्वव्यापी भए पनि यसको सबैभन्दा ठूलो मार कमजोर तथा विकासोन्मुख राष्ट्रहरूले खेपिरहेको बताए। शक्तिशाली राष्ट्रहरूले उत्सर्जन र जलवायु संकटप्रतिको जिम्मेवारी बहन गर्नुपर्ने तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा प्रभावित राष्ट्रहरूको आवाज सुनिनुपर्ने उनको धारणा थियो।
टर्कीमा भएको सम्मेलनमा शक्तिशाली राष्ट्रका प्रमुखहरूको सहभागिताको प्रसङ्ग उल्लेख गर्दै उनले जलवायु परिवर्तनबाट प्रभावित साना तथा कमजोर राष्ट्रहरूले अन्तर्राष्ट्रिय मञ्चबाट न्याय पाउनुपर्ने बताए।
तीन दिनसम्म सञ्चालन हुने उक्त पत्रकारिता प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका २४ जना पत्रकार सहभागी छन्। तालिममा जलवायु परिवर्तन, विपद् व्यवस्थापन, जोखिम पहिचान, डिजिटल सञ्चार, कृत्रिम बुद्धिमत्ता (एआई) तथा तथ्याङ्कमा आधारित पत्रकारिताका विषयमा प्रशिक्षण दिइनेछ।
सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना र युनिसेफको सहकार्यमा सञ्चालन हुने तालिमले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नुका साथै विपद् तथा जलवायु परिवर्तनसम्बन्धी प्रभावकारी रिपोर्टिङमा सहयोग पुर्याउने आयोजकको अपेक्षा छ।
अग्रलेखका निर्देशक योगेश रावलले सुदूरपश्चिम प्रदेश प्राकृतिक विपद्को उच्च जोखिममा रहेकाले यस विषयमा पत्रकारहरूलाई दक्ष बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिए। उनका अनुसार विपद् जोखिम, त्यसको प्रभाव र न्यूनीकरणका उपायबारे तथ्य तथा प्रमाणमा आधारित समाचार उत्पादन गर्न पत्रकारलाई सक्षम बनाउनु तालिमको मुख्य उद्देश्य हो।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जलवायु परिवर्तनका विषयमा पत्रकारहरूले प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्नुपर्ने बताए। उनले कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोगसँगै त्यसको दुरुपयोगबाट फैलिन सक्ने गलत सूचनाप्रति सचेत रहन र सही तथा विश्वसनीय सूचना प्रवाह गर्न पत्रकारहरूलाई आग्रह गरे।
नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज भट्टले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यावहारिक पत्रकारितामा प्रयोग गर्नुपर्ने बताए। उनले पत्रकारहरूको क्षमता विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै प्रदेश सरकारले ल्याएको बजेटमा पत्रकारिता क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिइएको आरोपसमेत लगाए।
त्यसैगरी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गहेन्द्र बमले जलवायु परिवर्तन, विपद् व्यवस्थापन र तथ्याङ्कमा आधारित पत्रकारिताका लागि यस्ता प्रशिक्षण कार्यक्रम आवश्यक रहेको बताए।
अग्रलेखका कार्यकारी निर्देशक हरि जोशीले विपद्का घटनाबाट हुने क्षति न्यूनीकरण गर्न र समुदायमा पूर्वसचेतना फैलाउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले तथ्य, प्रमाण र तथ्याङ्कमा आधारित पत्रकारिताको विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको स्पष्ट पारे।
जलवायु परिवर्तनको प्रभाव बढ्दै गएको र प्राकृतिक विपद्का जोखिमसमेत चुनौतीका रूपमा देखिएको अवस्थामा सञ्चारमाध्यमबाट समयमै सूचना प्रवाह, जोखिमबारे सचेतना र जवाफदेहिताको खोजी गर्नु आवश्यक रहेको सहभागी वक्ताहरूको जोड थियो।

















प्रतिक्रिया