कोरला नाकाबाट चार महिनामै भित्रिए ७ हजार विद्युतीय सवारी साधन


मुस्ताङ । नेपाल–चीन सीमा कोरला नाकाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारी साधन (ईभी) नेपाल भित्रिएका छन्। मुस्ताङ भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षभरि यस नाकाबाट ३ हजार २२३ वटा ईभी आयात भएका थिए।

चालु वर्षको साउनमा १००, भदौमा १ हजार २५३ तथा असोज र कात्तिकमा ५ हजार ६४७ वटा ईभी आयात भएका हुन्। रसुवागढी नाका बाढीका कारण बन्द भएपछि कोरला नाकाबाट आयात बढेको हुन सक्ने भन्सार अधिकृत अमिन्द्र सिंहले बताएका छन्। यद्यपि, जोखिमपूर्ण सडक र दक्ष चालकको अभावका कारण आयात भएका केही सवारीसाधन गन्तव्यसम्म पुर्‍याउन समस्या भइरहेको छ।

यसैबीच, मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामै १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। वार्षिक लक्ष्य ९ अर्ब रुपैयाँ रहेकामा कार्यालयले लक्ष्यभन्दा ३ अर्ब ५५ करोड १४ लाख रुपैयाँ बढी राजस्व उठाएको हो।

उक्त अवधिमा चीनबाट ३० अर्ब ९ करोड ९ लाख रुपैयाँ बराबरका वस्तु आयात हुँदा नेपालबाट २९ करोड ५२ लाख रुपैयाँभन्दा बढीका सामान चीनतर्फ निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।