लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु, मन्त्री सिता बादीको एकजुट हुन आह्वान


काठमाडौं, मंसिर ९। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, २०८३ सुरु भएको छ। अभियानको शुभारम्भका अवसरमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले लैङ्गिक हिंसाविरुद्ध सबै पक्ष एकजुट हुन आह्वान गर्नुभएको छ।

मन्त्री बादीले हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै पीडितको संरक्षण, दोषीलाई कानुनी कारबाही र न्यायको सुनिश्चितता सरकारको प्राथमिकता रहेको बताउनुभयो।

उहाँले घरेलु हिंसा, यौनजन्य हिंसा, बालविवाह, दाइजो प्रथा, मानव बेचबिखन तथा डिजिटल माध्यमबाट हुने हिंसा अझै चुनौतीका रूपमा रहेको उल्लेख गर्दै हिंसामुक्त र विभेदरहित समाज निर्माणका लागि सरकारसँगै परिवार, समुदाय र सञ्चारमाध्यमको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो।

सोही अवसरमा मन्त्री बादीले लैङ्गिक हिंसा निवारणसम्बन्धी राष्ट्रिय कार्ययोजनाको विमोचनसमेत गर्नुभयो। कार्ययोजनालाई कागजमा मात्र सीमित नराखी प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उहाँले पीडितको उद्धार, सुरक्षित आवास, कानुनी सहायता, मनोसामाजिक परामर्श र पुनर्स्थापनाका सेवाहरू विस्तार गरिने जानकारी दिनुभयो।

मन्त्री बादीले हिंसा गर्ने व्यक्तिले कुनै पनि पहुँच, शक्ति, प्रतिष्ठा वा पदका आधारमा कानुनी उन्मुक्ति पाउन नहुने स्पष्ट पार्नुभयो। साथै, हिंसा प्रभावित व्यक्तिले न्याय खोज्ने क्रममा थप पीडा र असुरक्षा भोग्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अभियान यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ सञ्चालन भइरहेको छ।

मन्त्री बादीले अभियानलाई १६ दिनको कार्यक्रम मात्र नभई वर्षभरि निरन्तर चल्ने सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो।