Logo

कांग्रेसको अनुशासन समिति निष्क्रिय

स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका नेतालाई हराउन भूमिका खेलेको आरोप लागेका अन्तर्घातीलाई कारबाही गर्न बनेको कांग्रेसको अनुशासन समिति निष्क्रिय भएको छ ।

०७० को दोस्रो संविधानसभा निर्वाचनपछि केन्द्रीय सदस्य सुजाता कोइराला, अमरेशकुमार सिंहसहितका २८३ जना नेता कार्यकर्तालाई कारबाही गरेको अनुशासन समितिले १० महिनाअघि अनुशासन उल्लंघन गर्नेमाथि छानबिनको प्रक्रिया अघि बढाए पनि यसपटक सुस्त देखिएको हो ।

समितिको नेतृत्व सम्हालेका रमेश रिजालले राजीनामा दिएपछि अन्तर्घातीमाथि अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढेको छैन । रिजालको संयोजकत्वमा गत ८ भदौमा पाँच सदस्यीय अनुसन्धान समितिको गठन भएको थियो ।

समितिले २७ भदौमै दुई सयभन्दा बढी नेता कार्यकर्तामाथि छानबिनको प्रक्रिया अघि बढाएको थियो । तर, कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने समिति नै सुस्त बनेको छ ।

निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउने गरी भूमिका नखेलेकामाथि छानबिन गरी प्रक्रिया अघि बढाए पनि अहिलेसम्म चारवटा मात्र बैठक बसेको छ । अनुशासन समितिको पहिलो बैठकले करिब २५० जनालाई स्पष्टीकरण सोधेको थियो ।

उम्मेदवारलाई असहयोग गर्नेमाथि उजुरी दिन १० असोजसम्मको समय दिएर २७ भदौको पहिलो बैठकले प्रक्रिया अघि बढाएको थियो । तर, त्यसयता तीनवटा थप बैठक बसे पनि छानबिनपछिको कारबाहीको प्रक्रियामा समिति सुस्त बनेको छ । स्पष्टीकरण सोधेकामध्ये अधिकांशले आफूहरू चोखो रहेको भन्दै प्रस्टीकरण पठाएका छन् ।

तर, सबैले पठाएका छैनन् । यसरी आएका प्रस्टीकरणको छानबिन गरी कारबाहीको प्रक्रिया अघि नबढाउँदै समिति सुस्त बन्न पुगेको हो । समितिमा सुरेन्द्र पाण्डे, उमाकान्त चौधरी, कमला पन्त र हृदयराम थानी सदस्य छन् । तर, यिनीहरूमध्ये पाण्डे राष्ट्रिय सभाका सदस्य छन् । समितिमा रहेका अरू नेता पनि निष्क्रिय छन् ।

स्थानीय तहलाई लक्षित गरी छानबिनको प्रक्रिया अघि बढाए पनि त्यसपछि कांग्रेसले प्रदेश सभा र संघीय संसद्को निर्वाचनमा झन् ठूलो पराजय व्यहोरेको छ ।

वाम गठबन्धन बने पनि पार्टीभित्र अन्तर्घात हुँदा थप क्षति व्यहोर्नुपरेको भन्दै छानबिन गरी अनुशासनको कारबाही गर्नुपर्र्ने बहस कांग्रेसमा तीव्र ढंगले अघि बढेको छ । सभापति शेरबहादुर देउवाले अन्तर्घातीलाई कडा कारबाही गर्ने बारम्बार बताउँदै आएका छन् ।

राजीनामा दिएका रिजालले आफूले अघि बढाएको कामलाई अब अर्को समितिले निरन्तरता दिने बताए । ‘यो प्रक्रियाको विषय हो । हामीले दुई सयभन्दा बढीमाथि छानबिनको प्रक्रिया अघि बढाएका छौँ,’ उनले भने, ‘अर्को समिति गठन भएपछि पनि यसलाई अघि बढाउँछ ।’

केही समयअघि भएको कांग्रेसको चुनावी समीक्षा बैठकले निर्वाचन अनुशासन उल्लंघन गर्नेमाथि छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउन समितिलाई निर्देश गरेको थियो । तर, १६ वैशाखमा पार्टी केन्द्रले निर्देश गरे पनि समिति नै निष्क्रिय बनेको हो ।

‘जिल्लाअन्तर्गतका निकायहरू, पार्टी कार्यकर्ता र नेताहरू तथा उम्मेदवारको उजुरी र रिपोर्टमा उल्लेख भएको कुरालाई ध्यानमा राख्दै पार्टीलाई थप अनुशासित एवं मर्यादित बनाउन छानबिन गरी आवश्यक प्रक्रिया अघि बढाउन केन्द्रीय कार्यसमितिको यो बैठक अनुशासन समितिलाई निर्देश गर्दछ,’ १६ वैशाखमा सकिएको समीक्षा बैठकको निर्णयमा उल्लेख थियो । आरोपितलाई लागेको आरोप पुष्टि भएमा समितिले पद निलम्बन, पार्टीबाट निष्काशनसम्मका कारबाही गर्ने प्रावधान छ ।

अघिल्लोपटक सुजाता कोइरालादेखि अमरेशकुमार सिंहसम्मलाई कारबाही गरेको अनुशासन समिति यसपटक निष्क्रिय

 स्थानीय तहकै निर्वाचनमा भएको अन्तर्घात छानबिनमै निष्क्रिय बनेको समितिले प्रदेश सभा र संघीय संसद्को अन्तर्घातबारे कामै सुरु गरेन

यी हुन् अन्तर्घाती सिफारिसको सूचीमा  परेका नेता
छानबिन अघि बढाइएकामा डडेल्धुरा जिल्ला सभापति कर्ण मल्ल, नुवाकोट जिल्ला सभापति एवं सांसद जगदीश्वरनरसिंह केसी, दैलेख जिल्ला सभापति कृष्ण विसी, जुम्लाका सांसद ललितजंग शाही, जुम्लाका सभापति जितबहादुर शाही, रुकुमकी सांसद मिठु मल्ल, त्रिवि उपकुलपति प्राडा. तीर्थराज खनियाँसहितका थिए ।

यीविरुद्ध जिल्लाभित्रका स्थानीय तहमा कांग्रेसका आधिकारिक उम्मेदवारलाई जिताउन भूमिका नलेखेको, हराउन सक्रियता देखाएकोजस्ता उजुरी परेपछि छानबिन अघि बढेको थियो ।

सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा सभापति कर्णविरुद्ध अमरगढी नगरपालिकामा कांग्रेसलाई हराउन लागेको भन्दै उजुरी परेको थियो । त्यस्तै, नुवाकोटका सभापति केसीविरुद्ध विदुर नगरपालिकामा कांग्रेसलाई हराउन सक्रियता देखाएको भन्दै उजुरी परेको थियो ।

तर, यिनीहरूले दिएको स्पष्टीकरण चित्त बुझ्दो छ वा छैन, उजुरीसँगै उपलब्ध प्रमाणलाई छानबिन गरी कारबाही अघि बढाउने प्रक्रिया नै सुस्त बनेपछि कांग्रेस कार्यालयमा गुनासो गर्ने क्रम बढ्दो छ ।

पार्टी संगठनमा सक्रिय हुन राजीनामा दिएँ : रिजाल
समितिका संयोजक रिजालले राजनीतिमा सक्रिय हुन आफूले राजीनामा दिएको टिप्पणी गरे । ‘अरू कारणले होइन, निरन्तर सक्रिय बनौँ, जिल्ला जाऊँ भन्ने हिसाबले मैले राजीनामा दिएको हुँ,’ रिजालले नयाँ पत्रिकासँग भने ।

२०/२५ दिनअघि नै रिजालले राजीनामा दिए पनि पार्टीले यसको पुष्टि भने गरेको छैन । तर, कारबाही गर्दा जसभन्दा अपजसको भारी बोक्नुपर्ने भएकाले उनले राजीनामा दिएको बुझिएको छ ।

‘पहिले पनि सुजाता कोइराला, अमरेशकुमार सिंहसहितका २८३ जनालाई कारबाही गर्दा पार्टीले कारबाही फुकुवा गरिदियो,’ कांग्रेस केन्द्रीय कार्यालय सानेपास्थित स्रोतले भन्यो, ‘यसपटक पनि कारबाही गर्दा अरू रिसाउने, रिस पालिरहने नगर्दा पनि किन गरिनस् भनेर असन्तुष्ट बन्नेहरू धेरै देखिने भएपछि उहाँले राजीनामा दिएको हुन सक्छ ।’

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्