Logo

सरकारलाइ ठेकेदारको चेतावनी ‘निर्माण कार्य सबै ठप्प पार्छौ’

गृमन्त्रीको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले निर्माण व्यवसायी पक्राउ गर्न थालेको भन्दै नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघले आपत्ति जनाएको छ । आज एक प्रेस विज्ञप्ती जारी गर्दै लोकतान्त्रिक निर्माण व्यवसाय संघले आपत्ति जनाएको हो ।

जिल्ला प्रशासन कार्यालयले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर निर्माण व्यवसायीहरु पक्राउ गर्न थालेको संघले आरोप लगाएको छ । ‘आफ्नो कार्यक्षेत्र बाहिर गएर निर्माण व्यवसायीलाई पक्राउ गर्नु बयान लिनु निन्दनिय छ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाल लोकतान्त्रिक व्यवसायी संघले सरकारको यस्तो गतिविधि कायमै रहे सम्पुर्ण निर्माण कार्य ठप्प पार्ने चेतावनी समेत दिएको छ ।
एकोहोरो धरपकड मात्र भएमा राष्ट्रभरिका सम्पूर्ण निर्माण व्यवसायहीरु निर्माण कार्य बन्द गरी आन्दोलनमा होमिनुको विकल्प नभएको संघका अध्यक्ष हुमनाथ कोइरालाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ मात्रै आफूहरुलाई कारबाही गर्न मिल्ने उनीहरुको भनाइ छ । सरकारको पछिल्लो गतिविधिका कारण निर्माण व्यवसायी आतंकित र त्रसित भएको संघले बताएको छ ।

निर्माण व्यवसायीले इमान्दारीपूर्वक काम गर्दा गर्दै पनि धेरै ठाउँमा साइट क्लीरेन्स नभएका कारण निर्माण कार्य अघि बढ्ने नसकेको संघको भनाइ छ । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकटका निर्माण व्यवसायीहरुको संगठन हो ।

प्रतिक्रिया दिनुहोस्