Logo

यूएईमा नेपाली क्रिकेटरले खेल जिते, स्टेडियम सफा गरेर दर्शकले मन जिते…(तस्बिरसहित)

यूएई – युएईमा जारी टी–२० शृङ्खला अन्तर्गतको दोस्रो खेलमा नेपाल ४ विकेटको रोमाञ्चक जित हात पार्‍यो ।

झण्डै १८ सय जना नेपाली दर्शकले खचाखच भरिएको खेल मैदानको छेउमा नेपाली बाजागाजा घन्किएका थिए । लय छोडिसकेको खेललाई नेपाली ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरी र पवन शर्राफले जितसम्म पुर्‍याए । नेपाली झण्डा फहराउँदै खेलाडीलाई हौसला प्रदान गरिरहेका नेपाली दर्शक निराश भएनन् ।

शुक्रबार यूएईमा सार्वजनिक बिदाको दिन थियो । यूएईविरुद्द एक दिवसीय सिरिज जितेसँगै नेपाली क्रिकेटको आईसीसी वरियता क्रममै प्रवेश भएको छ । र अहिले नेपाली क्रिकेटको चर्चा चुलिएको छ ।

दुबईको आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा शुक्रबार भएको खेलमा नेपालले ४ विकेटले यूएईलाई हरायो । अन्तिम ओभमा सात रन आवश्यक थियो । तीन बल बाँकी रहँदै खेल नेपालले जित्यो । दशर्कको हुटिङले रंगशाला गुञ्जायमान भयो ।

एक दिवसीय सिरिज जितेकै खेल मैदानमै टी–२० को दोस्रो खेल रोमाञ्चक लयमा नेपाली टोलीले आफ्नो पक्षमा पार्यो र टी–२० सिरिज पनि जित्ने बलियो दाबेदारी प्रस्तुत गर्‍यो ।

दोस्रो टी–२०: नेपालले यूएईलाई ४ विकेटले हरायाे

शुक्रबार खेल हेर्न पुगेका दर्शक खेल अवधिभर बाजागाजा र नेपालको राष्ट्रिय झण्डासहित रमाइलो गरिरहे । खेल हेर्न गएका धेरै दर्शक स्थान अभावका कारण गेटबाटै फर्काईए । खेल सकियो । खेलाडीले मैदान छोडे । खेल हेर्न पुगेका धेरैजसो दर्शक हतार–हतार गरेर कोठा फर्किए ।

स्टेडियम पानी तथा जुसका बोतल, खाजा नास्ताका प्याकेटले फोहोर थियो । नेपाली क्रिकेट समर्थक समाज यूएईको टोलीले कालो प्लास्टिकको झोला समाएर स्टेडियममा भएको फोहोर संकलन गरे । खेल मैदानछेउ सफा बनाए ।

सरसफाइका लागि आयोजकले व्यवस्थापन गरेको भए पनि नेपालीको पहिचानका लागि आफूहरुले सबै खेलपछि स्टेडियम सफा गर्ने गरेको समाजका सुमिर न्यौपानेले उज्यालोलाई बताउनुभयो ।

खेलाडीले यूएईको भूमिमा उसैलाई हराउँदै खेल जिते । त्यही खेल हेर्न पुगेका नेपाली क्रिकेटप्रेमी दर्शकले सबैको मन जिते ।  उज्यालाे अनलाईन बाट

प्रतिक्रिया दिनुहोस्