एनपीएलमा आज चार टोली मैदानमा, जनकपुर–विराटनगरपछि लुम्बिनी–पोखरा खेल्ने


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ।

आजै साँझ ५ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। चारवटै टोलीका लागि आजका खेल अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने अवसरका रूपमा रहेका छन्।

दोस्रो जितको खोजीमा विराटनगर, जनकपुर लगातार तेस्रो जितको लक्ष्यमा

विराटनगर किंग्सले यसअघि तीन खेल खेल्दा एकमा मात्रै जित हात पारेको छ। आज चौथो खेलमा मैदान उत्रँदा विराटनगर दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ।

यता, जनकपुर बोल्ट्सले तीन खेलमध्ये दुईमा जित र एकमा हार बेहोरेको छ। आज विराटनगरलाई हराउँदै जनकपुर लगातार तेस्रो जित निकाल्ने योजनामा हुनेछ।

पहिलो जितको खोजीमा पोखरा

आजको दोस्रो खेलमा भिड्न लागेका लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सको प्रदर्शन भने फरक छ। लुम्बिनीले दुई खेल खेल्दा एकमा जित हात पारेको छ। अर्को खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए।

पोखरा एभेन्जर्सले भने यसअघि खेलेका दुवै खेलमा पराजय बेहोरेको छ। आज तेस्रो खेल खेल्न लागेको पोखरा पहिलो जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यसहित मैदान उत्रनेछ।

एनपीएलमा आज हुने दुवै खेलले चार टोलीको अंकतालिकास्थितिमा प्रभाव पार्नेछ। जनकपुर आफ्नो जितको लय कायम राख्न चाहन्छ भने विराटनगर र पोखरा जितको खोजीमा हुनेछन्। लुम्बिनी पनि दोस्रो जित निकाल्दै आफ्नो स्थिति सुधार्ने प्रयासमा रहनेछ।