Logo

मेस्सीको फ्यानलाई खुसीको खबर : ‘मेस्सी बने विश्वकै बलिया खेलाडी’

बार्सिलोनाका स्टार खेलाडी एन्टोइन ग्रिज्र्रम्यानले आफ्ना टिममेट तथा कप्तान लियोनल मेस्सी विश्वकै बलिया खेलाडी भएको दाबी गरेका छन् । हालै ‘डीएजेडएन’सँगको कुराकानीमा फ्रान्सेली स्टार ग्रिजम्यानले आफ्ना सहकर्मीको प्रशंसा गरेका हुन् । यसै सिजन एथ्लेटिको मड्रिडबाट बार्सिलोना गएका ग्रिजम्यान र कप्तान मेस्सीबीच सुमधुर सम्बन्ध स्थापित भइनसकेको बताइन्छ । तर, यी दुई खेलाडीले प्रायः एक–अर्काको प्रशंसा गरिहेका हुन्छन् । यस्तैमा विश्वकप विजेता ग्रिजम्यानले मेस्सी विश्वकै बलिया खेलाडी भएको दाबी गरे ।

सर्वाधिक छ पटकका बालोन डी‘ओर विजेता मेस्सीसँग एउटै क्लबबाट खेल्न पाउँदा खुशी लागेको बताउँदै उनले भने, ‘लियो (लियोनल मेस्सी) विश्वकै बलिया खेलाडी हुन् । र, उनीसँग मैदानमा खेल्न पाउँदा खुशी लाग्छ ।’

‘जब मेस्सीको खुट्टामा बल हुन्छ, म पनि उनको चाल बुझ्ने प्रयत्न गर्छु’, उनले थपे, ‘यसबाट हाम्रो सञ्चार अझै राम्रो हुँदैछ ।’ यसैगरी ग्रिजम्यानले आफू बार्सिलोनामा अत्यन्त खुशी रहेको बताए । बार्सिलोनाबाटै इतिहास रच्ने बताँउँदै उनले भने, ‘म यहाँ एकदमै खुशी छु । मलाई बार्सिलोनामा देखेर मेरा बुबा पनि धेरै खुशी हुनुहुन्छ ।’

‘म यहाँबाट इतिहास रच्न चाहन्छु’, उनले थपे, ‘बोलिले होइन कामले । यसका लागि मैले काम गर्नु जरुरी छ ।’ क्याप नोउबाट डेब्यू गरेपछि ११ गोल गरेका उनले बार्सिलोना विश्वकै उत्कृष्ट क्लब भएको बताए । एथ्लेटिकोमा मेरो करिअर राम्रो बित्यो । म बार्सिलोनामा छु । संसारकै उत्कृष्ट क्लबमा । यो मेरो लागि चुनौति र अवसर दुवै हो ।’

प्रतिक्रिया दिनुहोस्