सोलुखुम्बु । सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर आपसमा ठोक्किएको घटनाको अनुसन्धान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
मंगलबार एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकप्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको थियो भने दुई पाइलटसहित तीन जना घाइते भएका थिए।
प्राधिकरणले निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो। समितिमा पाइलट तथा वायुयान इन्जिनियरहरू सहभागी छन्।
समितिलाई दुर्घटनाको वास्तविक कारण पत्ता लगाउने, घटनासँग सम्बन्धित प्राविधिक तथा अन्य पक्षको विस्तृत अध्ययन गर्ने र भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुझावसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।
समितिले दुर्घटनाका कारण, हेलिकप्टर सञ्चालनका क्रममा अपनाइएका सुरक्षा प्रक्रिया तथा सम्भावित प्राविधिक कमजोरीबारे अध्ययन गर्नेछ। अनुसन्धानपछि प्राप्त निष्कर्ष र सुझावका आधारमा आगामी दिनमा हवाई सुरक्षालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया