Logo

नेपाल र अमेरीकाकाे खेलमा दर्शकले देखाएकाे त्याे ब्यवहार…, मैदानमा पानीको बोतल, ढुंगा प्रहार

सन् २०१०, फेब्रेवरी २६ तारिख, स्थान थियो कीर्तिपुर क्रिकेट मैदान, प्रतियोगिता थियो, आइसीसी विश्व क्रिकेट लिग डिभिजन पाँच । जहाँ लिग चरणमा नेपालले पाँचौ खेल अमेरीका विरुद्ध खेल्दै थियो । दर्शकले कीर्तिपुर मैदान भरिभराउ थियो ।

यसअघिका चार खेलमा नेपालले चारै खेल जितेको थियो । सो खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा नौ विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । जसमा ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेलेका थिए । उनले ८१ बलमा ५२ रन बनाएका थिए ।

नेपालको ब्याटिङलाई हौसला दिएका नेपाली दर्शक अमेरीकाको पारीमा सुरुवातमा संयमित भएर हेरेका थिए । अमेरीका खेल जित्ने अवस्थामा रहेको थियो । उसको स्कोर ३२ ओभरमा एक सय ५० रनमा पाँच विकेटको अवस्थामा खेलिरहेको थियो । सोहि बेला दर्शकदिर्घाबाट मैदानमा पानीको बोतल, ढुंगा प्रहार गरे । जसका कारण खेल रोकिन पुग्यो । यतिमात्र होइन, दर्शकको सो ब्यवहारले म्याच अम्पायरको टिमले अमेरीकाको चार ओभर घटायो । यतिमात्र होइन, अमेरीकालाई ४६ ओभरमा एक सय ५७ रनको नयाँ लक्ष्य दियो ।

सो खेलमा नेपालका लागि रनरेट निकै महत्वपुर्ण रहेको थियो । अर्को टिम सिंगापुरले पनि आफुलाई शिर्ष दुईमा पुर्याउनका लागि निकै दावेदारीता दिइरहेको थियो । अमेरीकाले राम्रो रन रेटमा खेल जित्ने सोचेर दर्शकले खेल विथोल्ने प्रयास गरे ।

केहि समयको रुकावटपछि खेल सुरु भयो । तर अमेरीकाले पाएको नयाँ लक्ष्य ३३ ओभर तीन बलमा पाँच विकेट गुमाउँदै पुरा गर्यो ।

यो घटनालाई आइसीसीले पनि अनुसन्धान गर्यो । भलै नेपाली दर्शकमाथि कुनै कारवाही गरेन, तर सो बेला दर्शकले देखाएको सो ब्यवहारले नेपालको छवीमा भने केहि प्रश्न उब्जाएको थियो ।

त्यस घटनाले नेपाललाई प्रतियोगितामा फाइदा भने भयो । नेपाल शिर्ष दुईमा रहँदै फाइनलमा पुग्यो । जसमा फाइनलमा नेपालले अमेरीकालँई पाँच विकेटले नै हरायो र उपाधि जित्यो ।

तर सो घटनाले सिंगापुर डिभिजन चारमा उक्लनबाट बञ्चित भयो । प्रतियोगितामा उसले पाँच खेलमा चारमा जित निकालेपछि तेस्रो हुन बाध्य भयो । यो प्रतियोगिताको उपाधि जितेपछि सुरु भएको नेपाली क्रिकेट टिमको यात्रा टी २० विश्वकप हुँदै अहिले एकदिवसिय मान्यतासम्म पुगेको छ ।

यसपटक पनि फेरी कतै त्यस्तो घटना त दोहोरीने होइन भन्ने प्रश्नहरु कायमै छन, तर दर्शकहरु यतिबेला संयमित भएर खेल हेर्न लालायित छन । एक त लामो समयपछि अन्तराष्ट्रिय प्रतियोगिता भइरहेको छ, त्यसमा पनि नेपालका लागि महत्वपुर्ण प्रतियोगिता रहेको छ ।

दर्शकबाट कुनै अप्रिय घटना नहोस भनेर नेपाल क्रिकेट संघ क्यानले सुरक्षा ब्यवस्थापनि निकै चुस्त पार्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्