Logo

कोरोना भाइरसले ज्यान गुमाउनेको संख्या बढ्यो ! सेयर गरौ

चीनमा नोवेल कोरोनाभाइरसबाट मर्नेहरूको संख्या ५ सय ६३ पुगेको छ। चिनियाँ अधिकारीहरूले बिहीबार बिहान सार्वजनिक गरेको नयाँ आँकडाअनुसार बुधबारमात्र चीनमा ७३ जनाले संक्रमितले ज्यान गुमाएका छन्। उक्त भाइरसबाट एकैदिनमा मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै बढी हो। मंगलबार ६५ जनाको मृत्यु भएको थियो।

संक्रमितको संख्या बढ्ने क्रम भने अघिल्लो दिनभन्दा बुधबार कम भएको छ। मंगलबार चीनमा ३ हजार ८ सय ८७ जना नयाँ संक्रमित भेटिएका थिए भने बुधबार ३ हजार ६ सय ९४ जना बिरामी थपिएका छन्।

अहिले संसारभर २८ हजार २ सय ६२ मानिसमा यो भाइरसको संक्रमण देखिएको छ तीमध्ये चीनमा मात्र २८ हजार १८ जना छन्।

पर्यटकीय नगरी र संसारका चर्चित गाडी निर्माता कम्पनीका प्लान्ट भएको वुहानका वासिन्दा अहिले एकातिर घरबाहिर निस्कन पाएका छैनन् भने अर्कातिर आँखैअगाडि आफन्त गुमाइरहेका छन्।

हुवेई प्रान्तको राजधानी वुहानबाट डिसेम्बर अन्तिम सातादेखि फैलिएको कोरोनाभाइरसले आइतबारसम्म ३ सय ६१ जनाको ज्यान लिएको छ। १७ हजार २ सय पाँच जना बिरामी परेका छन्। मृत्यु र बिरामीको आँकडा दिन दुई गुणा रात चौगुणा बढिरहेको छ। पछिल्ला १० दिनमा भाइरसले मर्नेको संख्या २१ र संक्रमित हुनेको संख्या ३० गुणा बढेको छ।

यो क्रम चीनमा मात्र सीमित छैन। कोरोनाभाइरस अफ्रिकाबाहेक सबै महादेशमा फैलिइसकेको छ। फिलिपिन्समा त एक जनाको मृत्यु नै भएको छ।

कोरोनाको कहर कहिले रोकिन्छ? यो प्रश्नको जवाफ कसैले दिन सक्दैन। किनकी एकातिर यो रहस्यमयी भाइरस लागे निको पार्ने भ्याक्सिन वा ट्याबलेट बनेको छैन अर्कातिर यो यति फैलिइसकेको छ सतर्कता नअपनाउने हो भने वुहानजस्तै संसारका कुनै पनि सहरमा महामारी बनिदिन सक्छ। यसलाई विज्ञहरूले प्यान्डेमिक (दुईभन्दा बढी महादेशमा हुने महामारी) भनेका छन्।

भाइरस यति रहस्यमयी छ कि यसको ठ्याक्कै नाम के राख्ने भन्ने पनि वैज्ञानिकहरूले मेसो पाउन सकेका छैनन्।
सन् २०१९ मा सुरू भएकाले कतिपयले यसलाई nCoV-2019 भनेका छन्। त्यो भनेको नोवेल कोरोनाभाइरस २०१९ को छोटो रूप हो।

कोरोनाभाइरस पहिला जनावरमा देखिने गरेको थियो। सुक्ष्म रूपमा नियाल्दा यो भाइरस ताज (क्राउन) जस्तै देखिने भएकाले कोरोनाभाइरस भनिएको हो।

अहिले देखिएको भाइरस कोरोना समूहको सातौं हो। २००३ अघि वैज्ञानिकलाई मानिसमा संक्रमण गर्ने दुई खाले कोरोनाभाइरस बारे जानकारी थियो। यी दुबैले रूघाखोकी लगाउँथे तर ज्यान लिनेगरी खतरनाक थिएनन्। २००३ मा देखिएको सार्स तेस्रो कोरोनाभाइरस हो।

त्यसपछि वैज्ञानिकले राम्ररी खोजी गर्दा अरू दुई खाले पनि थाहा नभई मानिसमा रहेको पत्ता लागेको थियो। थाहा नभई मानिसमा रहेकाले यी खतरनाक नहुने नै भए। २०१२ मा मध्यपूर्वमा देखिएको मर्स छैठौं कोरोनाभाइरस हो।

सन् २००३मा चीनमै फैलिएको कोरोनाभाइरसलाई सिभियर एक्युट रिस्पिरेटोरी सिन्ड्रोम (सार्स) को नाम दिइएको थियो। २०१२ मा साउदी अरेबियामा देखिएको यस्तै भाइरसलाई मिडिल इस्ट रिस्पिरेटोरी सिन्ड्रोम (मर्स) भनिएको थियो। यो भाइरस चमेराबाट उँट हुँदै मानिसमा सरेको थियो।

अहिले देखिएको भाइरसलाई नयाँ भनिए पनि यो कैंयौ वर्षअघि देखिसकेको भाइरस हो।

अनुसन्धानकर्ताले वुहानदेखि हजार माइल दक्षिणपूर्वमा युनान प्रान्तको एउटा गुफामा यो भाइरस फेला पारेका थिए।

उक्त गुफामा रहेका चार प्रकारका चमेरामा अहिलेको कोरोनाभाइरस देखिएको थियो। अनुसन्धानकर्ताले उक्त भाइरस मान्छेमा सर्न सक्ने रिसर्च पेपर सन् २०१७ मै प्रस्तुत गरेका थिए। उनीहरूको पेपरमा गुफा नजिकैका मानिसमा यो भाइरससँग लड्ने क्षमता पनि कमजोर भएको उल्लेख गरिएको थियो।

अहिले पनि यो भाइरस चमेराबाट अन्य वन्यजन्तु हुँदै मानिसमा सरेको विश्वास गरिएको छ। तर ठ्याक्कै कुन जनावरबाट सर्‍यो भन्ने खुलेको छैन।

वुहानमा रहेको जिउँदा कुखुरा, समुद्री खाना र वन्यजन्तु बेचिने एक बजारबाट यो भाइरस मानिसमा सरेको हो। यद्यपी यो भाइरसबाट संक्रमित हुने पहिलो बिरामी को हुन् भन्ने खुलेको छैन। पहिलो बिरामी डिसेम्बर अन्तिम साता अस्पताल जँचाउन थिए।

सुरूमा वुहानका अधिकारीहरूले यसलाई सामान्य रूघाखोकी ठाने। मानिसबाट मानिसमा नसर्ने भएकाले आत्तिनु पर्दैन भने।

मानिसहरू केही नभए जसरी आफ्नो काम गरिरहे। यो बेला चिनियाँ कम्युनिष्ट पार्टीका सम्मेलनहरू हुन्छन्। स्थानीय र प्रान्तीय अधिकारीहरू त्यसैमा व्यस्त भए। राष्ट्रपति सी चिनफिङ पनि म्यानमारको भ्रमणमा निस्किए। ध्यान नदिएको बेला कोरोनाले दुई चार जनालाई होइन सयौंलाई समात्यो।

बिरामी बढ्न थालेपछि अधिकारीहरूले त्यो बजार नै बन्द गरिदिए। उनीहरूलाई लागेको थियो-बजार बन्द गरेपछि रोगको संक्रमण रोकिन्छ। यो खबर सेतोपाटिमा छ ।

जनवरीको तेस्रो साता पुग्दा कोरोनाले वुहानलाई गाँजिसकेको थियो। जनवरी २२ सम्ममा १७ जना चिनियाँले ज्यान गुमाएका थिए भने पाँच सय बढी संक्रमित भएका थिए।

डिसेम्बर २३ देखि प्रशासनले वुहान सहरलाई पूर्ण रूपमा बन्द गरिदियो। बाहिर जान र आउन जाँच गर्नुपर्ने भयो। तर त्यतिञ्जेल कोरोनाले लामो यात्रा पार गरिसकेको थियो। उसले त्यो यात्रा एक्लै होइन मान्छेभित्र पसेर गरेको थियो।

वुहानमा १ करोड १० लाख मानिस बस्छन्। बन्द हुनुभन्दा पहिला एक दिनमा औसतमा ३५ सय वुहानीले विश्वका अन्य सहरमा उड्थे। वुहान चीनभित्रको पनि प्रमुख यात्रा गर्ने ठाउँ हो। यहाँबाट राजधानी बेइजिङ र व्यापारिक सहर सांघाईमा तीव्र गतिका रेल र हवाइजहाजले जोडिएको छ।

नयाँ वर्ष मनाउन वुहानमा काम गर्न आएका चिनियाँ गाउँ फर्किएका थिए। लामो विदा पाइने भएकाले विदा मनाउन मानिसहरू देशभित्रै र बाहिर हिँडेका थिए। वुहानका मेयरले लुनार नयाँ वर्षमा झन्डै ५० लाख मानिसले वुहान छोडेको बताएका छन्।

सन् २००३ मा सार्स फैलिँदा चीनमा अहिलेजस्तो आन्तरिक र बाह्य सम्पर्क सञ्जाल थिएन। अहिले बेल्ट एन्ड रोड इनिसिएटिभ्स परियोजनामा काम गर्न चिनियाँ कामदार एसियादेखि अफ्रिकासम्म पुग्ने गरेका छन्। सार्स फैलिएको बेलाभन्दा अहिले चीनमा रेल र जहाजबाट यात्रा गर्नेहरू चार गुणा बढेका छन्।

वुहानबाट सिधा उडान हुने बाहिरका सहरहरूमा कोरोनाभाइरस देखिन थालेपछि चिनियाँ नेतृत्वसँगै विश्वको ध्यान वुहानमा सोझियो। विश्व स्वास्थ्य संगठनले गत साता विश्व स्वास्थ्य आपतकाल घोषणा गर्‍यो।

अब यो चीन एक्लैको वा स्वास्थ्य क्षेत्रको समस्यामात्र रहेन। विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा देखिएको महामारीले विश्व अर्थव्यवस्थामै असर पार्ने देखिएको छ। संसारभरका एयरलाइन्सले चीन उडान र चीनका जहाज कम्पनीले बाहिर उडान बन्द गरेका छन्। हुवेई प्रान्तमा थप एक साता लागि विदा दिइएको छ।

स्टारबक्सलगायत कम्पनीले चीनभित्र भएका आफ्ना शाखाहरू बन्द गरेका छन्। कतिपय देशले आफ्ना नागरिकलाई चीन नजान भनेका छन्। चिनियाँलाई त परको कुरा चीन भ्रमण गरेका विदेशीलाई पनि आफ्नो देशमा प्रवेश रोक लगाएका छन्।

अवस्था कुन हदसम्म जान सक्छ कसैलाई थाहा छैन। संक्रमित एक जनाबाट दुईदेखि तीन जनामा यो रोग सर्न सक्छ। यदि कुनै उपचार र रोकथाम गरिएन भने एक जना संक्रमितबाट सर्ने क्रम पाँच चक्र पूरा हुँदा ३६८ जनामा यो भाइरस फैलिसकेको हुन्छ।

‘अहिले देखिएको भाइरस कस्तो हो र यसले के गरिरहेको छ भन्ने धेरै कुरा अझै अनिश्चित छन्’, माउन्ट सिनाइ अस्पताल टोरोन्टोका सरूवा रोग विशेषज्ञ डाक्टर एलिसन म्याकगिरले न्यूयोर्क टाइम्ससँग भने।

कोरोनाभाइरसबाट सबै उमेर समूहका मानिसहरू संक्रमित हुन सक्छन्। वृद्धवृद्धा र पहिला पनि अरू रोगसँग लडिरहेकाहरू बढी संवेदनशील हुन्छन्। कोरोनाभाइरस शरीरमा प्रवेश गरेको दुईदेखि १४ दिनसम्म यसका लक्षण देखिन्छन्।

कोरोना लाग्दा रूघाखोकी लाग्छ, सास फेर्न कठिन हुन्छ। खोक्दा र हाछ्युँ गर्दा हावाको बाटो हुँदै यो भाइरस अर्को मान्छेमा सर्छ। भाइरसबाट संक्रमित भएकाको मृत्युदर कति हो भन्ने यकिन गर्न कठिन छ। अहिलेसम्मकोआकँडा हेर्दा संक्रमितमध्ये तीन प्रतिशत भन्दा कमले ज्यान गुमाएका छन्।

सामान्य लक्षण देखिएका मानिसहरू अहिले पनि डाक्टरलाई देखाउन नगएका हुन सक्छन्। यस्ता संक्रमितको अवस्था कति छ भन्ने कुरा अहिले ठ्याक्कै थाहा छैन। यदि उनीहरूको संख्या धेरै नै छ भने मृत्युदर एक प्रतिशतभन्दा कम हुन सक्छ, जुन यही समूहका अन्य भाइरसको भन्दा कम हो। यो भाइरसबारे विस्तृत थाहा पाउन संक्रमितको रगत परीक्षण गर्नुपर्छ। अध्ययनको क्रम अझ धेरै नयाँ कुरा थाहा हुन सक्छ।

सार्स र मर्सभन्दा नयाँ भाइरस फरक किन हो भने ती दुईको संक्रमण फैलिन दर एकदमै कम थियो। अहिलेको भाइरस रूघाखोकी जसरी तीव्र गतिमा फैलिरहेको छ।

रूघाखोकी खाले यस्ता प्रकोप जाडो मौसम अरू बेला पनि फैलिन्छन्। एच१एन१ स्वाइनफ्लुले धेरै देशमा फैलिएर लगभग डेढ लाख बढीको ज्यान गएको अनुमान गरिएको थियो।

यो संख्या धेरै लागे पनि मौसमी रूघाखोकीले नै वर्षेनी विश्वभरि चार-पाँच लाख मानिसले ज्यान गुमाउँछन्। मौसमी रूघामा मृत्यु हुने ७० प्रतिशतभन्दा बढी ६५ वर्षमाथिका हुन्छन्।

स्वाइनफ्लूमा भने अधिकांश ६० वर्षमुनिका थिए। कोरोनाभाइरसले सबैमा संक्रमण भइरहेको छ। मान्छेमा संक्रमण भएपछि भाइरसको ‘म्युटेसन’ भएर अझ खतरानाक हुने सम्भावना पनि उत्तिकै रहन्छ।

अहिले चीनले १० दिनमै हजार शय्याको अस्पताल बनाएर बुताले भ्याएसम्म कोरोनाभाइरसको मुकाविला गरिरहेको छ तर कोरोनालाई जित्न हम्मेहम्मे परेको छ। झन्डै ६ करोड मानिस बस्ने हुवई प्रान्त नै बन्द गरिएको छ। मानिसहरू घरबाट निस्कन नपाएपछि खाद्यान्नको अभावलगायत समस्या देखिन थालका छन्।

कोरोनाभाइरसविरूद्ध लड्ने भ्याक्सिन बनाउने वैज्ञानिकहरू जुटेका छन्। तर उनीहरूले आजको भोलि त्यस्तो भ्याक्सिन बनाउन सक्ने छैनन्। सन् २००३ मा सार्स फैलिँदा भ्याक्सिन बनाउन वैज्ञानिकहरूलाई २० महिना लागेको थियो। उक्त भ्याक्सिन कामै लागेन किनकी त्यतिञ्जेल सार्स भाइरस हराइसकेको थियो।

२०१५ मा जिका भाइरस फैलिँदा वैज्ञानिकहरूले ६ महिनामा भ्याक्सिन बनाएका थिए। २००३ भन्दा संसारले जेनेटिक इन्जिनियरिङमा धेरै फड्को मारिसकेकाले छोटो समयमा यो भाइरसको भ्याक्सिन बनाउन सम्भव छ। भ्याक्सिन बनाउनलाई चाहिने मुख्य कुरा स्रोत हो। चीनमा अरू गरिब र अविकसित देशजस्तो स्रोतको कमी हुने छैन।

त्यसैले भ्याक्सिन बनाउन छिटो हुनेछ। मेडिकल एथिक्सका कारणले जनावर र मानिसमा न्यूनतम परीक्षणको मापदण्ड पूरा नगरी प्रयोगमा ल्याउन भने कठिन हुनेछ। यो फैलिएर भयावह रूप लियो भने अन्तर्राष्ट्रिय रूपमा ती मापदण्डबारे निर्णय लिन सजिलो हुनेछ। (एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्