काठमाडौं l बागमती नदी र त्यसका सहायक नदी किनारमा जोखिमपूर्ण जीवन बिताइरहेका बासिन्दाहरू सुरक्षित भविष्यको खोजीमा सरकारको पहलप्रति सकारात्मक देखिएका छन्। बल्खु र वंशीघाट क्षेत्रका भूमिहीन तथा न्यून आय भएका नागरिकहरू यतिबेला दशरथ रंगशाला पुगेर आफ्नो विवरण दर्ता गराइरहेका छन्।

हालसम्म ७२ जनाले स्वेच्छिक रूपमा विवरण दर्ता गराइसकेका छन् भने सयौं व्यक्ति लाइनमा रहेको जनाइएको छ। दर्ता प्रक्रिया शहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति लगायत निकायको संयुक्त टोलीले सञ्चालन गरिरहेको छ।

दर्तासँगै नागरिकहरूको स्वास्थ्य परीक्षण तथा मनोपरामर्श सेवा पनि प्रदान गरिँदैछ, जसले विस्थापनको त्रास कम गर्न सहयोग पुर्याएको छ। साथै, सहभागीहरूलाई सम्मानपूर्वक व्यवहार गर्दै खाजा खुवाएर ‘होल्डिङ सेन्टर’मा लैजाने तयारी गरिएको छ।

विवरण संकलनपछि प्रभावितहरूलाई अस्थायी रूपमा ललितपुरको धापाखेल, भक्तपुरको खरिपाटी, बोडे, नगरकोट र काभ्रेको बनेपास्थित विभिन्न केन्द्रहरूमा व्यवस्थापन गर्ने योजना रहेको छ।
सरकारको यो कदमले नदी किनारको जोखिम न्यूनीकरणसँगै प्रभावित नागरिकको सुरक्षित पुनर्वासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।














प्रतिक्रिया