Logo

जन्मदिन मनाउँदै हुनुहुन्छ ? यस्तो छ शास्त्रीय मान्यता, जानी राखौ

हामी प्रत्येक वर्ष जन्मदिन मनाउँछौ । व्यवहार निर्णयमा भनिएको छ–बालक वा अरु सबैको जन्मदिनमा पहिलो वर्ष पुरा भएपछि वा जुन सुकै वर्ष पुरा हुँदा पनि नयाँ वस्त्र धारण गराउनुपर्दछ वा गर्नुपर्दछ । त्यसपछि अष्टचिरञ्जिवीको पूजा गर्नु –गराउनु पर्दछ । भक्तिपुर्वक मार्कण्डेय ऋषिको पूजन गर्नुपर्दछ ।

मार्कण्डेयका साथै दिर्घ आयु भएका व्यास, अश्वस्थामा, पर्शुराम, कृपाचार्य, वलि, हनुमान, प्रल्हादको पूजा गराउनु गर्नुपर्दछ । आफ्नो जन्म नक्षेत्र र प्रतिवर्ष आफ्नो जन्म तिथिमा उक्त चिरञ्जिवी र षष्ठी देवीको दही चामल चढाएर पूजा गर्नुपर्दछ ।

तिथितत्वमा अष्टचिरञ्जिवी र षष्ठीको नामबाट तिल हवन गर्नुपर्ने कुरा बताईएको छ । आदित्य पुराणमा लेखीएको छ– सबै मानिसले आफ्नो जम्म दिनमा मङगलजलले स्नान गरी गुरु, देवता, अग्नि, ब्राहणको पूजा गर्नुपर्दछ । आफ्नो नक्षत्र, माता–पिता र प्रजापतिको समेत पूजा गरी प्रतिवर्ष जन्मोत्सव मनाउनुपर्दछ ।

कृत्यचिन्तामणिमा भनिएको छ – जन्मोत्सव मनाउँदा सख्खर,तिल दान गर्नुपर्दछ । हातमा ग्रन्थिबन्धन गर्नुपर्दछ, नीम, पहेंलो सस्यूँ ,गोरोचन आदि वस्तु पवित्र वस्त्रमा पोको पारेर गाँठो पारि हातमा बाँध्नु पर्दछ । त्यसपछि भगवान गणेश र सूर्यको पूजा गर्नुपर्दछ । यसरी पूजा गरिसकेपछि मुनिहरुसँग प्राथना गर्दै भन्नुपर्दछ– हे मुनिजन जसरी तपाईँहरु चिरञ्जिवी हुनुभएको छ त्यसरी नै म पनि चिरञ्जिवी बनुँ म रुपवान, धनवान र ऐश्वर्यशाली बनुँ ।

सातकल्पसम्म जीवन धारण गर्नुहुने हे मार्कष्डेय मुनि ! आयु र आरोग्यको सिद्धिका लागी हाम्रा निमित्त वरदाता बन्नुहोस् । म मार्कष्डेयबाट वर प्राप्त गरेर आयुसिद्धिका लागि तिल र सख्खर मिसिएको दूध पिउँदैछु । यसरी प्राथना गरेर दूध पिउनु पर्दछ । तिथितत्वमा उद्धृत स्कन्दपुराणको वचन यस प्रकार रहेको छ – जन्मोत्सवको दिन कसैले पनि नङ एवम् रौं काट्न हुदैन, मैथुन गर्नु हुदैन, लामो दूरीको पैदल यात्रा गर्नुहुदैन, मासु खान हुँदैन, कसैसँग झगडा गर्नु हुँदैन र कुनै प्रकारको पनि हिंसा गर्नु हुँदैन ।

दीपिकामा भनिएका छ –जसको जन्मतिथि शनिबार वा मंगलबारको दिन परेको हुन्छ त्यो दिन उत्तमनक्षत्र र योग समेत नपरेमा पाइला–पाइलामा विध्न आउँछन् । उक्त पद्यामा प्रयुक्त कृतान्तकुजयो ः पदमा रहेको कृतान्तशब्दको अर्थ शनि हो । शनिको दोष मेटाउन सवौँषधि अर्थात दशथरी जडिबुटिको समुह जसमा कूट, तालिशपत्र, हलेदो, कपूर, जटामसी, पत्थरकुंकुम, श्रीखण्ड, बोझो, चाँपो र मोथे रहेका हुन्छन् तीद्धारा स्नान गर्नुपर्दछ र गुरु, देवता एवं अग्निको पूजा गर्नुपर्दछ ।

यसबारे वृद्धमनु भन्दछन्– मरणाशौच, जन्मसुतक, संक्रान्ति, श्राद्धको तिथि, जन्मतिथि वा जन्मदिनमा अस्पृश्यको स्पर्श गरिएको अवस्थामा तातो पानीले नुहाउँनु हुँदैन । जन्मोत्सव मनाउँदा उदयकालिन तिथि लिनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्