चितवनको जलविरेमा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु


चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे लामो झरना घुमेर फर्किंदै गरेको भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ।

बुधबार दिउँसो करिब २:३० बजे डब्लूबी ०२ एपी ३४५८ नम्बरको कार अनियन्त्रित भई सडकबाट खसेर जलविरे झरनाको खोलामा पुगेको थियो। दुर्घटनामा कारमा सवार पुरुषको घटनास्थलमै मृत्यु भएको हो।

मृतकको साथबाट भारतको पश्चिम बंगालस्थित कालिम्पोङ ठेगाना भएका ४१ वर्षीय सायन्तन गायेनको नाममा जारी राहदानी फेला परेको छ। सोही राहदानीका आधारमा मृतकको पहिचान खुलेको प्रारम्भिक विवरण छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा दुर्घटनाको समयमा कारमा चालक मात्र सवार रहेको खुलेको छ।

कार अनियन्त्रित भएर सडकबाट खोलामा खस्नुको कारण भने खुल्न बाँकी छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।