Logo

पशुपतिमा आइतबारदेखि ‘नमस्कार’ अभियान सुरु गरिने !

पशुपति क्षेत्र विकास कोषले आइतबारदेखि ‘नमस्कार’ अभियान सुरु गर्ने भएको छ। नेपाल सरकारको भिजिट नेपाल २०२० को सन्दर्भ जोड्दै महाशिवरात्रीको अवसर पारेर नमस्कार अभियानलाई पुनर्जागरण गर्ने भएको हो। पाशुपत क्षेत्रमा करिब एक सयवटा नमस्कार गरौं भन्ने आशयका फ्लेक्स हुनेछन्।

फ्लेक्सको बीचमा नमस्कार शब्द हुनेछ भने सोको दायाँबायाँ पशुपतिनाथ मन्दिरअंकित तस्विर हुनेछ। नमस्कारको तल ‘वसुधैव कुटुम्बकम्’ शब्द हुनेछ भने त्यसभन्दा तल दायाँबायाँ पुरुष र महिलाका हातले नमस्कार गरेका तस्विर हुनेछन्।

कोषले सुरु कोषको कार्यालयबाटै गर्ने भएको छ। कसैले हात मिलाउन खोजे अब कोषका कर्मचारीले हामी हात मिलाउँदैनौं नमस्कार गर्छौं भनेको सुन्न पाइनेछ।

यसैबीच, महाशिवरात्रीकै अवसर पारेर कोषले प्लाष्टिक निषेधको कामलाई पनि कडाइका साथ कार्यान्वयन गर्ने भएको छ। कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीका अनुसार २०६९ सालमा काठमाडौं महानगरपालिकासँगको सहकार्यमा पाशुपत क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरे पनि फाट्टफुट्ट देखिएपछि पुनः कडाइ गर्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस्