श्रीमतीलाई भावुक पत्र, ‘अरु जे होस्, मेरो पसिनाको मूल्य फिर्ता देऊ’ !


प्रिय मनिषा
मीठो सम्झना
तिम्रो नाममा कोरिरहेको यो पत्र कसरी सुरु गरुँ, आफैँ दोधारमा छु । यो कुनै प्रेम पत्र होइन कि यसमा मायाका कुराहरु हुनेछ । यो त केवल आग्रहपत्र हो, जसमा तिम्रो नाममा मैले आफ्ना मनका बहहरु पोख्दैछु ।

मनिषा, तिमी मैले माया गरेको मान्छे । अनि, म तिमीले माया गरेको । एक–आपसमा माया गर्ने क्रममा हामीबीच कैयन् माया अनि प्रेमका कुराहरु भयो होलान्, कैयन् सुख दुखका कुराहरु पनि भयो । तर, आज म तिम्रो नाममा एउटा आग्रह पत्र लेख्दैछु, यो पत्र अन्तिमसम्म पढेर मेरो आग्रहलाई न्याय गर्नेछौँ, यसमा म विश्वस्त छु ।

महिना ठ्याक्कै याद छैन । ०६६ सालको एउटा महिना, झिसमिसे साँझमा तिमीसँग भेट भएको थियो मेरो । त्यही भेटले हामीलाई नजिक बनायो । ०६६ सालदेखि नै हामी प्रेम सम्बन्धमा रह्यौँ । प्रेम सम्बन्धमा रहँदा–रहँदै म मलेसिया गए । मलेसिया हुँदा पनि तिमी र म बीच उति नै कुराकानी भइरहेको थियो । मैले तिम्रो अनि तिमीले मेरो सञ्चो बिसञ्चो दैनिक रुपमा सोधेकै हो ।

मनिषा
मलेसियामा ४ वर्ष निरन्तर पसिना बगाएपछि म नेपाल फर्के । नेपाल फर्केपछि बिहे गर्ने तिम्रो र मेरो सहमति थियो नै । २०७२ साल वैशाख ०१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिदा मनमा उत्साह थियो, अनि हर्ष पनि । किनकी तिम्रो र मेरो भेट मात्रै हुँदै थिएन, हाम्रो विवाह पनि हुँदै थियो ।

मेरो त्यो खुसी १० वैशाख २०७२ मा पूरा भयो । अर्थात् यही दिनमा हामीले हाम्रो प्रेम सम्बन्धलाई सामाजिक रुपमा विवाहमा परिणत गर्यौ । त्यतिबेला मैले तिमीलाई पाउँदा आफ्नो जीवन पाएको अनुभूति गरेको थिए । किनकी तिमी मेरो खुसी थियौँ, प्राण थियौँ ।

घरमा राख्दा तिमीलाई दुख हुन्छ भन्ने सोचेर मैले तिमीलाई काठमाडौँ बालुजाको ढुंगेधारामा ल्याए । अनि, तिमी र म कोठा लिएर बस्यौँ । १ वर्षसम्म हामी सँगै रह्यौँ । त्यसपछि तिम्रै सल्लाहमा म कतार हान्निए । २०७३ सालको भदौमा तिमीलाई छाडेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र छिर्दै गर्दा मन गहु्रगो थियो । मन भारी थियो । तिमीलाई छाडेर जाने मन थिएन, तर पैसा नै सबथोक हो भन्ने तिम्रो सुझाव मानेर विदेशिनु बाहेक मसँग विकल्प थिएन, मनिषा ।

कतार जाँदा मैले तिमीलाई ३ लाख रुपियाँ छाडेको थिए । कतारमा मेरो कमाई राम्रै थियो । तिम्रो र मेरो हाई हेल्लो पनि राम्रै थियो । मैले कमाएको रकम तिम्रै नाममा पठाएको पनि थिए ।

यहीबीचमा तिमीले हाम्रो लागि घडेरी जोड्ने इच्छा राखीँ । मैले पनि तिम्रो इच्छाअनुसार चितवनको पार्वतीपुरमा जग्गा किन्न अनुमति दिए । त्यो जग्गा तिम्रो नाममा पास पनि भयो । हामीले १० लाखमा उक्त जग्गा किन्यौँ । खुसीहरु बढ्दै थियो, आकांक्षा र चाहाहरु पूरा हुँदै थियो ।

यहीबीचमा १९ महिनापछि फेरि म नेपाल फर्के मनिषा । नेपाल फर्केर अब तिमीसँगै बस्छु र दुख गर्छु भन्ने हेतुका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०७५ साल चैत ०२ गते ओर्लिए । जब मैले विमानस्थलमा पाइला टेके, त्यतिबेला मेरो मनमा तिम्रोबाहेक अरु कुनै सम्झना थिएन, मेरो मानसपटलमा केवल तिमी थिए, तिम्रो अनुहारका आकृतिहरु नाचिरहेका थिए ।

म नेपाल फर्केपछि हामी १ महिना सँगै रह्यौँ । श्रीमान–श्रीमती न हो, मैले तिमीलाई दिएको पैसा केके भयो ? भनेर सोधे । र, यहीबाट तिम्रो र मेरो झगडा सुरु भयो ।

२०७५ साल जेठ १० गते तिमी मसँग छुट्टिएर गयौँ । कारण उही मात्र थियो, मैले तिमीलाई पैसा केके भयो भनेर सोधेको थिए । यति सोधेपछि भड्किएकी तिमी कोठामा दाई भाउजुसँग आएर सबै आधा सामान लिएर गयौँ ।

मनिषा, मैले हामी श्रीमान–श्रीमती हौँ, मिलेर बस्नुपर्छ भन्दा तिमीले बारम्बार मलाई तिमीले मलाई तिमी मेरो श्रीमान होइन भन्यौँ । सार्वजनिक ठाउँहरुमा कैयौँ पटक प्रमाण माग्यौँ । म आज तिमीलाई यही पत्रमार्फत् भन्न चाहन्छु, हाम्रो विवाहको सबैभन्दा ठूलो प्रमाण त त्यही हो, कि हाम्रा आफन्त र सारा गाउँलेजनका समक्ष तिम्रो सिउँदोमा मैले सिन्दुर हालेको छु, दुनियाँले यसको फोटो खिचेका छन्, देखेका छन्, हामीसँग पनि प्रशस्तै फोटोहरु नभएको होइन ।

तर, तिमीले कानुनी रुपमा विवाह दर्ता भएको कागज माग्यौँ । विवाहदर्ता हाम्रो नभएकै हो तर हाम्रो विवाह नभएको होइन । मलाई आफ्नो श्रीमान नठान्ने तिमीले काठमाडौँ गौशाला प्रहरी चौकीमा मसँग आधा सम्पति दावा गर्दै मुद्दा हालेकी रहेछौँ ।

चितवनमा तिम्रो नाममा भएको त्यो जग्गा आफन्तको नाममा पास गरिदिएछौँ । तिमीलाई मैले दिएका केही नासोहरु पनि बेचिछौँ । तिमीले अरु केके गर्यौ म केही भन्दिन ।

बस्, मनिषा, मलाई यति भन्नु छ, विदेशमा ५० डिग्रीको घाममा रगत र पसिना बगाएर कमाएको पैसा फिर्ता गरिदेउ । खाडीमा मैले बगाएको पसिनाको मूल्य फिर्ता देऊ । तिम्रो जीवनको बाँकी बाटाहरुमा म तगारो बन्दिन, तर मैले पसिना बगाएर कमाएको पैसा फिर्ता देऊ । मेरो यो आग्रहलाई सुनिदेऊ, मनिषा ।

उही तिम्रो अभागी श्रीमान
दिपक देवकोटा
गोरखा अजिरकोट गाउँपालिका वडा नं. ६
यो कथा सत्य कथामा आधारित छ ।
उज्यालो नेटवर्कबाट