कांग्रेस (चौम) को केन्द्रीय समितिको बैठक सुरु, को को पुगे ?


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक सुरु भएको छ । धुम्बराहीस्थित एक होटेलमा शेरबहादुर देउवा समूहको बैठक बसेको हो । बैठकमा पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, कल्याण गुरुङ, गुरु बराल, रामहरि खतिवडा, मदन अमात्य, कल्याणी रिजालगायत सहभागी छन् ।

सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा–विश्वप्रकाश शर्मा समूहलाई दिने फैसला सुनाएपछि कांग्रेसका निवर्तमान कार्यवाहक सभापति खड्काले आइतबार पुरानो केन्द्रीय समितिको बैठक बोलाएका हुन् । आजको बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने भएको छ ।

देउवा समूहका अधिकांश नेताले राजनीतिक लडाइँ जारी राख्ने भन्दै बल अब सभापति थापाको कोर्टमा पुगेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेसले १५औं महाधिवेशनको कार्यतालिका प्रकाशन गरिसकेको छ । देउवा समूहले पार्टीको महाधिवेशनसम्बन्धी कार्यतालिका अमान्य हुने बताएको थियो ।

यो विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ । बैठकमा सहभागीहरुको अनुहार निकै मलिन देखिएको छ । कसैको अनुहार उज्यालो छैन । निर्वाचन आयोग र सर्वोच्च अदालत दुवैले गगन थापाको नेतृत्वलाई वैधानिकता दिएपछि देउवा समूह रणनीतिक छलफलमा जुटेको हो ।