Logo

कोरोनाको त्रास : पछि हट्यो नीरफूल पनि !

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले आफ्नो प्रदर्शन स्थगत गरिसकेको छ । कोरोनाको त्रासका कारण यस चलचित्रले आफ्नो रिलिज मिति स्थागन गरेको हो ।

त्यस्तै, चैतको ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नीरफूल’ले आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ । देशमा बढ्दै गएको कोरोनाको त्रासका कारण चलचित्रले आफ्नो रिलिज मिति पछाडि सार्न बाध्य भएको हो ।

फूलमान वल निर्देशित यस चलचित्रले नयाँ रिलिज मिति तय गरेको छैन । आइतबार चलचित्रको नयाँ रिलिज मिति सार्वजनिक गरिने निर्देशक वलले बताए ।

‘नीरफूल’ले तेस्रो पटक आफ्नो रिलिज मिति सारेको छ । सुरुमा भदौमा रिलिज हुने भनिएको यस चलचित्र भदौमा रिलिज भएन । त्यसपछि चलचित्रले फागुन ३० गतेलाई रिलिज मिति पक्का गर्‍यो । उक्त मितिमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुने भएपछि नीरफूल एकसाता पछाडि धकेलिएको थियो ।

अहिले कोरोनाको त्रासका कारण पुन: चलचित्रले आफ्नो रिलिज मिति फेर्न बाध्य भएको छ ।

‘नीरफूल’मा दयाहाङ राई, शन्ति वाइवा, बुद्धि तमाङ लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रमा रेखा थापा अतिथी भूमिकामा प्रस्तुत भएकी छिन् । भुकम्पका कारण टुटेको परिवारको कथा बोल्ने यस चलचित्रको पटकथा निर्देशक वल र सचिन घिमिरेले तयार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्