प्रेमदेखि धोकासम्मको कथा बोकेर आयो ‘सिन्दुरे जात्रा’को टिजर


काठमाडौं – चलचित्र ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले ‘बाँसैको सुप्लाखे’ गीत सार्वजनिक गरेपछि बिहीबार सिनेमाको टिजर सार्वजनिक गरेको हो ।

टिजरमा सिनेमाका मुख्य कलाकार विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने देखिएका छन् । प्रेम, खुसी, धोका र पीडालाई समेटिएको टिजरले दर्शकमाझ सिनेमाको कथाबारे कौतूहलता बढाएको छ ।

मौलिक तथा परम्परागत संस्कृतिको झल्कोबाट सुरु हुने टिजरमा सुरुमा विजय र अञ्जनाबीचको प्रेम, विवाह र खुसी देखाइएको छ । तर, कथामा द्वन्द्व सिर्जना गर्दै विनोद न्यौपानेको प्रवेश हुन्छ ।

उनको प्रवेशसँगै विजयको जीवनमा वियोग सुरु हुन्छ भने अञ्जनाले भोग्नुपरेको धोका र त्यसपछिको पीडालाई पनि टिजरमा प्रस्तुत गरिएको छ ।

प्रेमिल सम्बन्ध र खुसीका क्षणबाट अघि बढेको टिजर अन्ततः धोका, वियोग र भावनात्मक पीडामा पुगेर टुंगिन्छ । गाउँले परिवेश र मौलिक सांस्कृतिक प्रस्तुतिले टिजरलाई थप आकर्षक बनाएको छ ।

सरोज पौडेलको निर्देशनमा बनेको ‘सिन्दुरे जात्रा’मा नेपाली बक्सअफिसमा सफल जोडीका रूपमा परिचित विजय बराल र अञ्जना बराइली मुख्य भूमिकामा छन् । ‘पूर्णबहादुरको सारङ्गी’पछि उनीहरूको यो दोस्रो सहकार्य हो ।

चलचित्रमा विजय, अञ्जना र विनोदसँगै उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय रहेको छ ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रको कथा निर्देशक पौडेल स्वयंले तयार पारेका हुन् ।

सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन् । सह–निर्मातामा राकेश खड्का र श्याम मगर तथा एसोसिएट निर्मातामा सुमन रञ्जित र लाइन निर्मातामा अनिश अधिकारी छन् । दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रको छायांकन पदमबहादुर श्रेष्ठ (बाबु) ले गरेका हुन् । सुरेन्द्र पौडेल सम्पादक र विशाल घिमिरे क्रिएटिभ निर्देशक छन् । चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।

मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ । बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा रहेका छन् ।