Logo

कोरोना प्रभावले : कलाकर्मीको खल्लो होली !

गत वर्षको तुलनामा यसवर्षको फागुपूर्णिमाको रौनक फिक्का छ । गतवर्ष राजधानीका गल्लीगल्लीमा होलीको रौनक हुन्थ्यो । यसपटक भने सडक नेपाल बन्दमा झैँ सुनसान छ ।कोरोना भाइरसको त्रासका कारण यसपटकको फागूपूर्णिमाको रौनक भने खासै देखिएन । राजधानीको बसन्तपुर क्षेत्रमा पनि निकै कम चहलपहल देखियो ।

हरेक वर्ष नेपाली फिल्म क्षेत्रका हस्तीहरुले होलीका कार्यक्रम राख्ने गर्थे । रिलिजका क्रममा रहेका फिल्मले पनि होलीको अवसर पारेर होलीका कार्यक्रमहरु राख्ने गर्थे । यसपटक भने कलाकारले पनि खुलेर होली मनाएका छैनन् ।राजधानीको बानेश्वरमा पनि कलाकारले होलीको छुट्टै माहोल बनाउने गर्थे । गोपीकृष्ण हल परिसरमा पनि होलीको रौनकता छाउने गर्थ्यो । यसपटक भने कोरोनाका कारण कतै पनि होलीका कार्यक्रम राखिएनन् ।

कोरोना नफैलियोस् भनेर सरकारले पनि सुरक्षा अपनाउन भन्दै सार्वजनिक रुपमा भीड नगराउन आह्वान गरेकाले पनि कलाकारहरुले यसपटक होलीमा जमघट गरेका छैनन् ।जे होस्, कोरोनाका कारण होलीको माहोल भने निकै सुनसान देखिएको छ ।

दीपाश्री निरौलाले सामाजिक सञ्जालमा घरभित्रै होली मनाएका केही तस्वीर शेयर गर्दै लेखेकी छिन्, ‘घरभित्र नै खेलौं होली, होलीको शुभकामना ।’यस्तै अभिनेता दीपकराज गिरीले पनि यसपटक होली नमनाउने बताएका छन् । उनले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै भनेका छन्, ‘यो वर्ष होलीबारे कुरा नगरौं, टिकटकबारे कुरा गरौं ।’

प्रतिक्रिया दिनुहोस्