Logo

खुशीको खबर: चीनमा कोरोना भाइरसको सङ्क्रमण घट्यो, अरु देशलाई सहयोग गर्ने

काेराेना भाइरस (कोभिड–१९) अर्थात् कोरोना भाइरसको सङ्क्रमण सुरु भएको चीनमा नयाँ मानिसमा सङ्क्रमण हुने दर घटेको छ ।गएको जनवरी २० तारिखदेखि चीनको स्वास्थ्य विभागले दैनिक सार्वजनिक गर्ने विवरणअनुसार काेराेनाबाट सङ्क्रमित हुने नयाँ मानिसकाे सङ्ख्या घट्दै गएको हो ।

२४ घण्टामै सयौँ बिरामी थपिने गरेकोमा सोमबार नयाँ सङ्क्रमितको सङ्ख्या घटेर ४० मा झरेको थियो । मङ्गलबार १९ जनामात्रै नयाँ बिरामी भेटिएकाे बीबीसीले जनाएको छ । यस्तै ज्यान गुमाउनेको सङ्ख्या पनि दिनहुँ घटिरहेको छ भने उपचारपछि निको हुने क्रम बढेको छ ।

पछिल्लाे २४ घण्टामा कोरोना भाइरसका कारण चीनमा १७ जनाको ज्यान गएको छ । चीनमा अहिलेसम्म ८० हजार सात ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण भएकोमा ५९ हजार ९ सय पाँच जना उपचारपछि घर फर्किएका छन् ।

अहिले १७ हजार सात सय १३ जनाको अस्पतालमा उपचार भइरहेकाेमा चार हजार सात सय ९४ जना सिकिस्त बिरामी रहेकाे चीनको स्वास्थ्य विभागले जनाएको छ ।यसैबीच चीन सरकारले आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण नजिक पुगेको भन्दै अरु देशलाई सहयाेग गर्ने घोषणा गरेको छ ।

विश्वका एक सय १५ देशमा फैलिसकेको कोरोनाको सङ्क्रमण थप फैलनबाट रोक्न चीन सरकारले आफ्नो देशको अनुभव, प्रविधि र अन्तर्राष्ट्रिय आर्थिक सहयोग समेत बढाउने घोषणा गरेको चिनियाँ सञ्चारमाध्ययम सिन्ह्वाले जनाएको छ ।

प्रधानमन्त्री ली केकियाङको नेतृत्वमा बसेको बैठकले महामारीलाई थप फैलनबाट राेक्न र महामारी नियन्त्रण तथा आर्थिक वृद्धिलाई समन्वय गर्न व्यवस्थित ढङ्गले काम र उत्पादनलाई फेरि सुरु गर्न निरन्तर प्रयास गर्ने निर्णय गरेको खबरमा बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्