Logo

नेपाललाई कोरोना भाइरसको औषधी र प्रविधि दिन तयार छौँ :चीन

चीनले नेपाललाई कोरोना भाइरसको औषधी, प्रविधि र सूचना दिन तयार रहेको जनाएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग मन्त्रालयमा भएको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोनाको संक्रमण फैलन नदिन र फैलिएपछि पनि उपचार तथा औषधीका सहयोग गर्ने प्रतिबद्धता जनाएको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणको लागि चीनको पूरा सहयोग रहने बताउनुभयो ।

उहाँले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न नेपालले अपनाएको पूर्व सतर्कता र तयारीको प्रशंसासमेत गर्नुभयो ।चीनले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि अपनाएका सबै खालका प्रविधि, औषधी र सूचना नेपाललाई दिन चीन तयार रहेको उहाँको भनाइ थियो । भेटमा राजदूत यान्छीले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभवका बारेमा पनि जानकारी दिनुभयो । राजदूत यान्छीले कोरोना भाइरसको सङ्क्रमणबाट पीडित भएका ८० हजार ९ सय बिरामीमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको बताउनुभयो ।

मन्त्री भट्टराईले कोरोना भाइरसको समस्याबाट चीन चाँडै मुक्त हुन लागेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले कोरोना भाइरसको सङ्क्रमण रोकथामको लागि नेपालले सबै तयारी गरीरहेको जानकारी दिनुभयो ।अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच, अस्पतालहरुमा बेडको व्यवस्थापन, आवश्यक क्वारेन्टाइनको व्यवस्था लगायतका विषयमा सरकारले गरिरहेको तयारीको विषयमा मन्त्री भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्