Logo

आइतबारदेखि ग्यासको रिटेल काउन्टर, २२ स्थानबाट बिक्री गरिने ! सेयर गरौ

आयल निगमले ग्यासको आपूर्ति सहज बनाउन रिटेल काउन्टर खोल्न निर्देशन दिएको छ । निगम र ग्यास उद्योग संघबीच शनिबार भएको छलफलमा उद्योगीलाई रिटेल काउन्टर खोलेर ग्यास बिक्री गर्न निर्देशन दिएको हो ।‘आपत परेका ग्राहकले रिटेलबाट पनि खरिद गर्न सक्छन,’ निगमका कार्यकारी निर्देशक पौडेलले भने, ‘यो निर्णय भोलिदेखि नै लागू हुन्छ।’

संघले पनि विज्ञप्ति मार्फत् काठमाडौंका विभिन्‍न विक्रेता मार्फत ग्यास बिक्री गर्ने जनाएको छ। विज्ञप्तीमा आइतबारदेखि नै २२ ग्यास ब्राण्डले २२ ठाउँमा रिटेल काउन्टर खोलेर बिक्री गर्ने उल्लेख छ। विज्ञप्ती अनुसार नेपाल ग्यासले बालाजु, अनामनगर र सातदोबाटो, सागर ग्यासले जडिबुटी, एसटीसीले साल्ट ट्रेडिङ कालीमाटी र जडिबुटीबाट बिक्री गर्ने जनाएको छ।

ओम ग्यासले थली र नैकाप, बाबा/श्री/लुम्बनीले कपन धुम्बाराही, सिद्धार्थले इमाडोल, श्रीमायाले सतुंगल, लोकप्रियले नैकाप, राजधानी ग्यासले सितापाइला, सुर्य ग्यासले जगाती, गीता ग्यासले धुम्बाराही, हिमालले भगवती बहाल, नमस्ते ग्यासले कागेश्वर मनहरा, भानु ग्यासले गोंगबु, एभरेष्टले सिफल, श्रीराम ग्यासले ललितपुरबाट बिक्री गर्ने संघले जनाएको छ।

‘अधिकांश ग्यास कम्पनीले छनोट गरेका डिलर मार्फत् बिक्री हुन्छ,’एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले भने, ‘ग्यास नै पाउने ग्राहकका लागि आउटलेट खोल्ने निर्णय भएको छ।’

सरकारले ग्यास उद्योगले पनि रिटेल काउन्टर खोल्न दिने निर्णय गरेपछि बिक्रेताहरुले भने विरोध गरेका छन्। उनीहरुले बजारमा थप अस्तव्यस्त हुने दाबी गर्छन्। ‘यसले बजारमा थप आतंक हुन्छ। नाकाबन्दीको समयमा टेकुमा वितरण भएको उदाहारण पनि छ,’ग्यास विक्रेता महासंघका कोषाध्यक्ष राजेश दाहालले भने, ‘यो निर्णयले बजारलाई व्यवस्थित भन्दा अराजकतातर्फ लैजान्छ।’अहिले देखिएको समस्या सामाधन गर्न आपूर्तिमा वृद्धि र अनुगमनलाई तीव्र बनाउनुपर्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस्