वर्षौंदेखि अलपत्र १० पुल आठ महिनामै बने, मन्त्री लम्सालको सक्रियतापछि रोकिएका आयोजनाले पाए गति


काठमाडौँ । लामो समयदेखि अलपत्र र रुग्ण अवस्थामा रहेका १० वटा पुलको निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन्। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत लहान डिभिजन कार्यालयमार्फत पछिल्लो आठ महिनाको अवधिमा ती पुलहरूको निर्माण सम्पन्न भएको हो।

वर्षौंदेखि रोकिएका विकास निर्माणका कामलाई गति दिने अभियानअन्तर्गत मन्त्रालयले रुग्ण आयोजनाहरूको व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। पछिल्लो समय पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रोकिएका आयोजनाको अवस्था बुझ्ने, काममा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई खोजी गर्ने र ठेक्का अलपत्र पार्ने ठेकेदारलाई जवाफदेही बनाउने रणनीति अपनाएका छन्।

मन्त्री लम्सालको सक्रियता, निरन्तर अनुगमन र ताकेतापछि लामो समयदेखि रोकिएका आयोजनाहरूले गति लिन थालेका हुन्। काममा अटेरी गर्ने निर्माण व्यवसायीलाई मन्त्रालयमै बोलाएर छलफल गर्ने र निर्माण कार्य अघि बढाउन दबाब दिने शैलीले पनि चर्चा पाएको छ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रुग्ण आयोजनाहरूको व्यवस्थापनमा मन्त्रालयले पछिल्लो आठ महिनामा महत्त्वपूर्ण सफलता हासिल गरेको बताएका छन्। वर्षौंदेखि रोकिएका कामलाई गति दिन प्रशासनिक तथा प्राविधिक अवरोध हटाइएको उनको भनाइ छ।

‘हामीले निर्माण सम्पन्न गर्न बजेट व्यवस्थापन र रकमान्तर प्रक्रियामा सहजीकरण गर्‍यौँ। म्याद थप, भेरिएसन तथा डिजाइन पुनरावलोकनमा मन्त्रालयबाट आवश्यक सहयोग भयो,’ मन्त्री लम्सालले भने, ‘साथै, काममा उदासीनता देखाउने निर्माण व्यवसायीलाई मन्त्रालयमै बोलाएर संवाद र ताकेता गरेपछि कामले गति लिएको हो।’

मन्त्रालयका अनुसार अधिकांश पुल निर्माणमा ढिलाइ हुनु र आयोजना रुग्ण बन्नुका कारण समान थिए। बजेट अभाव, भेरिएसन स्वीकृतिमा समस्या, म्याद थपमा जटिलता तथा निर्माण व्यवसायीको उदासीनताका कारण यी आयोजनाहरू लामो समयदेखि अलपत्र परेका थिए।

निर्माण सम्पन्न भई सञ्चालनमा आएका १० पुल

लहान डिभिजन कार्यालयअन्तर्गत निर्माण सम्पन्न भई सञ्चालनमा आएका पुलहरूमा:

1. बिसहरिया–१ स्थित भलुवाही पुल।

2. रुपनी–६ स्थित दुधैला खोला पुल।

3. सखडा–फकिरा सडकको घोडदह नदी पुल।

4. फत्तेपुर–बेलटार सडकको काली खोला पुल।

5. रुपनी–राजविराज–कुनौली सडकको महुली घाडन खोला पुल।

6. सप्तरीको मुतनी खोला पुल।

7. त्रियुगा नगरपालिका–११ स्थित सिसुवारी खोला पुल।

8. उदयपुरको सुन्दरी खोला पुल।

9. मिर्चैया–कटारी–ओखलढुङ्गा–सल्लेरी सडकको हडिया खोला पुल।

10. शम्भुनाथ–९ स्थित बाबरा नदी पुल।

यी पुलहरू सञ्चालनमा आएसँगै सम्बन्धित क्षेत्रका स्थानीयवासीलाई आवागमनमा सहजता हुने अपेक्षा गरिएको छ। वर्षौंदेखि पुल नबन्दा सास्ती खेप्दै आएका नागरिकलाई यसले प्रत्यक्ष राहत पुर्‍याउनेछ।

मन्त्री लम्सालले अन्य रुग्ण आयोजनाहरूलाई समेत क्रमशः सम्पन्न गरी सञ्चालनमा ल्याउन मन्त्रालयले निरन्तर काम गरिरहेको बताएका छन्।

वर्षौंदेखि अलपत्र विकास आयोजनालाई गति दिने, ठेकेदारलाई जवाफदेही बनाउने र रोकिएका काम सम्पन्न गराउने अभियानलाई मन्त्रालयले प्राथमिकतामा राखेको देखिन्छ। अब बाँकी रहेका रुग्ण आयोजनाहरू पनि निर्धारित समयमै सम्पन्न हुने बताएका छन् ।