Logo

समिट एयरको जहाज रामेछापमा आकस्मिक अवतरण

काठमाडाैंबाट लुक्काका लागि उडेको समिट एयर नाइन एन एएमजी कल साइनको विमानको इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । आइतबार बिहान ९ बजेतिर जहाजका दुवै इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरेको नागरिक उडड्यन कार्यालय रामेछापका एटिसी विवस दाहालले जानकारी दिए ।

विमानमा रहेका १८ यात्रु र चालक दलका ३ सदस्य सबै सकुशल रहेका छन। दाहालका अनुसार जहाजका दुवै इन्जिन फेल भएपछि समिट एयरको सो जहाजले काठमाडौं जाँदै गरेको तारा एयरको विमानका चालकलाई सन्देश पठाएको थियो। तारा यएरको नाइन एन एईटी नम्बरको जहाजले रामेछाप टर्मिनलमा रहेका एटिसी समिट एयरको जहाजको इन्जिन फेल भएको जानकारी गराएको थियो।‘

समस्यामा परेको जहाजले हामीलाई खवर गरेको थिएन, आकाशमै तारा एयरको जहाजसँग कुरा भएछ’ दाहालले भने ‘त्यसपछि मैले उसलाई सम्पर्क गरे। तत्काल २ मिनेट भित्र अग्नि नियन्त्रण र सुरक्षाको प्रबन्ध मिलाउँदै विमानस्थल खाली गराए।’

एटिसीसँग सम्पर्क भएको करिब ६ मिनेटमा समिट एयरको जहाज रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरेको हो। अवतरणको क्रममा जहाजमा असाधारण आवाज आएपछि पाइलटले आकस्मिक सबै बत्ति बालेका थिए। तर जहाज सामान्य रुपमै अवतरण भयो। विमानमा रहेका १ बच्चा र १७ अन्य यात्रु सकुशल रहेका छन्।

विमानका क्याप्टेन तेन्जिङ लामा र सह क्याप्टेनमा पिडि शेर्पा थिए । दाहालले इन्जिन फेल भएको उक्त विमानको प्राविधिक परीक्षणका लागि समिट एयर र नेपाल नागरिक उडड्यन प्राधिकरणको टोलीले छानबिन थालेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्