Logo

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या तीब्ररुपमा बढ्दै, १५ हजार बढीले ज्यान गुमाए !

कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको छ । चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट सोमबार अपरान्हसम्ममा १५ हजार ३ सय बढीको ज्यान गएको हो ।

जसमा इटालीमा सबैभन्दा बढी ५ हजार ४७६ जनाको ज्यान गएको छ । इटालीमा ५९ हजार १३८ जनामा संक्रमण भेटिएको छ । जसमध्ये ७ हजार २४ जना निको भएर घर फर्किसकेकाको तथ्याङ्कले देखाएको छ । त्यसैगरी चीनमा ३ हजार २७० जनाको ज्यान गएको छ । यहाँ ८१ हजार ९३ जनामा संक्रमाण देखिएकोमा ७२ हजार ७०३ जना निको भएर घर फर्किसकेको छन् ।

त्यस्तैगरी स्पेनमा २ हजार १८२ जनाको ज्यान गएको छ । ३३ हजार ८९ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमा ३ हजार ३५५ जना निको भएर घर फर्किसकेका छन् । इरानमा पनि कोरोना भाइरसका कारण १ हजार ८१२ जनाको ज्यान गएको छ ।

इरानमा २३ हजार ४९ जनामा कोरोनाको संक्रमण भेटिएको थियो । जसमा ८ हजार ३७६ जना निको भएर घर पर्किसकेका छन् । विश्वका २ सयभन्दा बढी मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वभरका झण्डै साढे तीन लाख मानिसमा भेटिएको छ ।

नेपालमा पनि दुईजनामा कोरोना संक्रमित भेटिएको पुष्टि भइसकेको छ । फ्रान्सबाट आएको एक नेपाली युवतीमा कोरोना भाइरस संक्रमण भेटिएको आइतबार पुष्टि भएको थियो । उनी हाल क्वारेन्टाइनमै उपचाररत छिन् । यसअघि चीनमा अध्यायन गरेर नेपाल आएका एक युवामा कोरोना संक्रमण भेटिएको थियो । उनी निको भएर घर फर्किसेका छन् ।

प्रतिक्रिया दिनुहोस्