Logo

सावधान ! लकडाउन उल्लंघन गरे ६ महिना कैद हुनसक्छ

नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक साताका लागि देशलाई ‘लकडाउन’ गरेको छ । साथै देशभरका नेपालीहरुलाई चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते विहान ६ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।काठमाडौंमा एक जनामा कोरोना संक्रमण पुष्टि भएलगत्तै सरकारले देशलाई लकडाउने गर्ने निर्णय गरेको हो । लकडाउन उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुन्छ ।

यो अवधिमा अत्यावश्यक बाहेकका गतिविधि गर्न र त्यससँग सम्बन्धित गाडी चलाउनमात्र पाइन्छ । मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा सञ्चालनमात्र गर्न दिने निर्णय कतिपयलाई कर्फ्यू जस्तै लाग्न सक्छ । उस्तै उस्तै लागे पनि कर्फ्यू र लकडाउन फरक कुरा हुन् ।गृह मन्त्रालयका अधिकारीहरुले सुरक्षा चुनौती देखिएमा कर्फ्यू लगाउँछन् भने सुरक्षा बाहेकका

अन्य कारणले मानिसहरुलाई आउ-जाउ गर्न नदिन लकडाउन गरिन्छ । लकडाउन संक्रामक रोग ऐन-२०२० अनुसार केन्द्रीय सरकार तथा प्रदेश सरकारले गर्न सक्छ भने कर्फ्यू स्थानीय प्रशासन ऐनअनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले लगाउन सक्छ ।लकडाउन कर्फ्यु जस्तो कडा हुँदैन । तर, लकडाउनको आदेश पालना नगर्नेहरुलाई ६ महिनासम्म कैद र ६ सय रूपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने कानुनी व्यवस्था छ ।

लकडाउनको बेला पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालयबाट पासको व्यवस्था मिलाइएको छ । स्वास्थ्य र सुरक्षाका सवारी साधन सञ्चालन हुन पाउँछन् । यसैगरी औषधि, तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन र फोहरमैला संकलनका क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई लकडाउनमा छुट छ । यस्तै औषधि, स्वास्थ्य उपकरण, खाद्यवस्तु, पानी, दूध र इन्धनसँग सम्बन्धित उद्योग तथा कलकारखाना सन्चालन हुन पाउँछन् ।

चिनियाँ मोडल
कोरोना भाइरस संक्रमण फैलिन नदिन लकडाउने गर्ने निर्णय सबैभन्दा पहिले चीनले गरेको थियो । हुबेई प्रान्तको वुहान शहरमा गत डिसेम्बर अन्तिम साता सबैभन्दा पहिले कोरोना संक्रमित बिरामी फेला परेपछि चीनले लकडाउन गरेको थियो ।त्यतिबेला विश्वका अन्य देशहरुले घर बाहिर पनि निस्किन नदिएर चीन सरकारले तानाशाही शैली अपनाएको भन्दै विरोध गरेका थिए । तर, जब कोरोना संक्रमण विश्वभर फैलिन थाल्यो, तब सुरुमा चीनको विरोध गर्ने देशहरुले पनि आफ्नो देशमा लकडाउनको नीति लिए ।

अहिले चीन कोरोना संक्रमण रोकथाम गर्न सफल भइसकेको छ । तर, विश्वका १९४ देशहरुमा यसको संक्रमण फैलिइसकेको छ । कोरोना संक्रमणबाट १५ हजार बढीको ज्यान गइसकेको छ भने साढे ३ लाख बढी मानिसहरु संक्रमित भएका छन् । १ लाख भन्दा धेरै मानिसहरु उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्