Logo

सिड्नीमा नेपाली विद्यार्थीको मृत्यु, ललितपुर इमाडोल घर भएका ती युवक

सिड्नीको हर्षभिलमा नेपाली युवाबीच ग्याङफाइट हुँदा घाइते भएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ।

ललितपुरका एक युवकको कोग्राह हस्पिटलमा उपचारको क्रममा निधन भएको उनका नजिकका नातेदारले पुष्टि गरेका छन्।

दुई दिनअघि सिड्नीको हर्षभिलको पबमा दुई विद्यार्थीहरूको समूहबीच भेट भएर भनाभन भएपछि सो झगडा सुरू भएको थियो।

पबमा दुई पक्षबीच भेट भएपछि केही विवाद भएको र पबको सुरक्षाकर्मीले पाँच जनाको एक समूहलाई पबबाट बाहिर निकालेको थियो।

पछि सोही समूहले बाहिर कुरेर बसेको थियो। त्यसपछि पनि विवाद हुँदा ललितपुर इमाडोल घर भएका ती युवक गम्भीर घाइते भएका थिए।

पबभित्रको सानो झगडालाई लिएर बाहिर बसेको समूहले आक्रामक व्यवहार देखाउँदा अमित लगायतको टोली भागेको र लखेटने क्रममा ती युवकको टाउकोमा गम्भीर चोट लाग्न पुगेको थियो।

उनलाई प्रहरीले गम्भीर अवस्थामा सडकबाट फेला पारेपछि सेन्ट जोर्ज हस्पिटल पुर्‍याएको थियो।

झैझगडामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको र केहीलाई सोधपुछ गरी छाडेको छ।

पवबाट निकालिएका समूहको एक व्यक्ति पनि अस्पतालामा उपचाररत छन्।

प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेकाले अहिलेनै केही भन्ने अवस्था नरहेको जनाएको छ।

झैझगडामा सामेल सबै उच्च अध्ययन गर्न अस्ट्रेलिया आएका विद्यार्थी हुन्। केही स्थानीय फुटबल क्लबमा आवद्ध खेलाडी समेत छन्।

सात समुन्द्र पारी आएर उच्च अध्ययन गर्न आएका नेपाली विद्यार्थीले यस्तो रोगको महामारीमा पनि आपसी झैझगडामा उत्रनु नराम्रो विषय भएको एनआरएन महासचिव ज्ञानेन्द्र रेग्मीले बताए।

‘पढ्न आएका विद्यार्थीहरू पवमा फाइट खेल्ने कामले हाम्रो समाजलाई नराम्रो सन्देश दिएको र त्यसमाथि पनि एउटा उज्वल भविष्य बोकेको युवाको निधनले नेपालमा रहेका अभिभावकमा कत्रो चोट पुगेको होला’,यो हाम्रो समुदायको लागि साँच्चिकै राम्रो विषय होइन’, उनले भने।

प्रतिक्रिया दिनुहोस्