Logo

रिचार्ज बराबरको बोनस र २ सयसम्म ऋण दिन दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई ग्राहकले रिचार्ज गरे बराबरको बोनस र २ सय रूपैयाँसम्म ऋण दिन निर्देशन दिएको छ। मंगलबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकले कोरोना जोखिमको न्यूनीकरणमा दूरसञ्चार सेवाले केही सहयोग पुर्‍याओस् भन्ने भावनाले रिचार्जमा शत प्रतिशत बोनस र सापटी रकम २ सय रुपैयाँ दिन निर्देशन दिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए।

‘सरकारले कोरोनाको उच्च सतर्कता अपाउँदै देशभर लकडाउन गरेको छ। यस्तो अवस्थामा पसल पनि खुलेका हुँदैनन्। मानिसलाई अप्ठ्यारो स्थिति सिर्जना नहोस् भनेर उक्त निर्देशन दिइएको हो,’ प्राधिकरणका प्रवक्ता अर्यालले भने।

उनले यो निर्देशन भोलिबाटै लागू हुने जानकारी दिए। उनका अनुसार सापटी रकममा सेवा प्रदायकले कुनै प्रकारको अतिरिक्त रकम लिन पाउने छैनन्। यो निर्णय लागू भए उपभोक्ताले १ सय रुपैयाँ रिजार्च गर्दा सय रुपैयाँ नै बोनस प्राप्त गर्न सक्दछन् भने ब्यालेन्स सकिएको अवस्थामा २ सय रुपैयाँसम्म ऋण पाउने छन्।

प्रतिक्रिया दिनुहोस्