Logo

कोरोना संक्रमित युवतीसँगै जहाजमा रहेका सबैको पहिचान!

कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएकी फ्रान्सबाट आएकी युवती चढेको जहाजमा रहेका व्यक्तिहरूको पहिचान भइसकेको सरकारले जनाएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरस पोजेटिभ रहेकी युवती आएको जहाजमा रहेका सबैको पहिचान भएको बताएका हुन् । संक्रमित युवतीसँग घरमा रहँदा सम्पर्कमा रहने सबैलाई क्वारेन्टाइनमा पठाइसकेकोसमेत उनले बताए ।


जहाजमा सँगै आउने व्यक्तिहरूलाई भने सेल्फ क्वारेन्टाइनमा बस्न सजग गराइएको उनले जानकारी गराए । त्यस्तै अहिलेसम्म ६ सय १० वटा नमूना परीक्षण भएकोमा दुई वटाबाहेक नयाँमा संक्रमण भएको नपाइएको उनले बताए ।

कोरोना संक्रमण भएको एक जना र आशंका गरिएका अन्य १५ जनासहित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अहिले १६ जना बिरामी रहेको उनले बताए । त्यसमध्ये १० जना क्वारेन्टाइनमा छन् भने पाँच जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै सरकारले यसअघि विदेशबाट आएका वा तीनका नजिकका व्यक्तिहरूको मात्र परीक्षण हुने गरेकोमा त्यसको दायरा बढाई संक्रमणको लक्षण मिलेका ६० वर्ष उमेर नाघेका बिरामी, स्वास्थ्यकर्मीहरू, दीर्घरोगीहरू र सघन उपचार कक्षमा रहेकामा फ्लुको लक्षण देखिएका बिरामीको समेत नमुना संकलन गरी परीक्षण सुरु गरेको छ ।

त्यसैगरी अन्य अस्पतालमा कोरोना संक्रमणसँग मिल्दो लक्षण देखिएका बिरामी आएमा फिभर क्लिनिक सञ्चालन गरी अस्पतालले आइसोलेसनमा राख्नु पर्ने र कोरोना परीक्षणका लागि नमुना पठाउनुपर्ने व्यवस्था गरिएको समेत देवकोटाले बताए । उनले बिरामीलाई रेफर नगरीकन नमुना पठाउन मात्र अनुरोध गरिएको बताए । विदेशबाट आएकाहरू सेल्फ क्वारेन्टाइनमा नबसी आफूखुसी बस्न थालेकाले देशभर लकडाउन गर्नुपरेको समेत उनको भनाइ छ ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखामा अहिलेसम्म रहेका स्वास्थ्य सामग्रीहरूमा पिपिई सेट ३ सय ५८ वटा, गाउन १ हजार ४ सय ५६, फेस मास्क १ हजार ५ सय ७८, सेनिटाइजर ७७, पञ्जा १ हजार ५ सय ९३, एन ९५ मास्क २४, चस्मा ४ सय ८०, आइआर थर्मोमिटर ४, सुकभर १ हजार १ सय ६२ र फेस फिल्ड २ सय ३५ वटा छन् । यसबाहेक विभिन्न संक्रमणको जोखिम रहेका क्षेत्रहरूमा वितरण गर्न राखिएको फेस मास्क २ लाख ७२ हजार ४ सय २० वटा रहेको पनि प्रवक्ता देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्