Logo

हावाको प्रदूषण : काठमाण्डौ ग्रीन जोन

काठमाण्डौमा हावाको प्रदूषण ग्रीन जोन अर्थात मानवीय बसोवासका लागि उपयुक्त अवस्थामा पुगेको छ ।आज बिहान काठमाण्डौ उपत्यकाका सबै प्रदूषण मापन केन्द्रहरुले हरियो चिह्न अर्थात बसोवासका लागि उपयुक्त देखाएका छन् । हावाको प्रदूषणको मात्रा मापन सूचकाङ्क अक्वा ५० भन्दा तल देखिएमा प्रदूषण मापन स्टेशनहरुले हरियो चिह्न देखाउँछन् जुन मानिसको बसोवासका लागि उपयुक्त मानिन्छ ।

अक्वा एक सयसम्मलाई पहेँलो रङ देखाएर बस्नको लागि ठिकै अवस्थाको संकेत गर्छ । अक्वा १५० सम्म बैजनी रङ देखाएर समस्याको संकेत गर्छ भने १५० भन्दा माथी रातो रङ देखाएर जोखिमपूर्णको संकेत गर्ने वातारण विभागका उपमहानिर्देशक एवम् प्रवक्ता इन्दुविक्रम जोशीले बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनले बसोवासका लागि हावामा प्रदूषणको अन्तराष्ट्रिय मापदण्ड अक्वा २५ तोकेको छ भने नेपालले ४० मा सीमित राख्ने लक्ष्य लिएको प्रवक्ता जोशीले बताउनुभयो । अहिले रत्नपार्कको सूचकाङ्क अक्वा ४५ रहेको छ । एक महिनाअघि रत्नपार्कको अक्वा १६६ पुगेको थियो । काठमाण्डौ उपत्यकाको वायु प्रदूषणको मुख्य कारण यातयातका साधनले फ्याँक्ने धुवाँ रहेको प्रवक्ता जोशीले बताउनुभयो । हिजो सीमितबाहेक गाडी नचलेका कारण आज बिहान सबै प्रदूषण मापन केन्द्रहरुले हरियो चिह्न देखाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्