Logo

प्रहरीको काठमाडौंमा कडा लकडाउन, अटेर गरे ६ महिना जेल …..(भिडियो सहित)

सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउनको पहिलो दिन अर्थात् चैत ११ गते सवारीसाधन आवागमनमा रोक लगाइएपनि मानिसहरुको आवतजावतमा भनेर काठमाडौँ प्रहरीले कुनै रोक लगाएन । मानिसहरु घरको बाहिर हुल बनाएर मात्रै बसेनन्, सडकमा पनि बेफिक्री हिँडिरहेका थिए । कोरोना संक्रमण फैलिने डरले सरकारले पूरै देश लकडाउन गरिरहँदा काठमाडौँमा धेरै मानिसहरुले लकडाउनको मजाक बनाइरहे ।

‘लकडाउनको प्रभाव हेर्न’ सडकमा निस्कनेदेखि मर्निङ वाक र इभिनिङ वाक गर्नेहरुको सङ्ख्या पनि उत्तिकै थियो । पहिले कुनै राजनीतिक दलले गर्ने बन्द साँझ ५ बजे सकिएको घोषणा गरेपछिको दृश्य जस्तै लकडाउन पनि साँझ परेपछि सकिएको शैलीमा मानिसहरु घरबाहिर निस्किएका थिए ।

मंगलबार सामान्य सम्झाएर पठाउने गरेको प्रहरीले पनि बुधबारदेखि कडा रुपमा प्रस्तुत हुने सङ्केत काठमाडौँका प्रमुख जिल्ला अधिकारीले दिएका छन् । रातोपाटीसँग कुराकानी गर्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बुधबारदेखि काठमाडौँ प्रहरी कडारुपमा प्रस्तुत हुने बताएका हुन् ।

प्रजिअ दाहालका अनुसार मङ्गलबार ९५ प्रतिशत मानिसहरु घरमै बसेका थिए । केही मानिसहरु पहिलो दिन भएको कारणले कस्तो हुन्छ भन्दै बाहिर हेर्न निस्किएको पनि प्रजिअ दाहालले बताए । तर बुधबारदेखि त्यस्तो नहुने दाहालको भनाइ छ ।

प्रजिअ दाहाल भन्छन्, ‘फिजिकल डिस्टेन्स नै सुरक्षाको पहिलो आधार हो । तपाईंहरु सडकमा निस्कनुभयो भने १ सय प्रतिशत जोखिममा हुनुहुन्छ भने घरमै बस्नुभयो भने १ सय प्रतिशत सुरक्षित । तर सरकारले गरेको आदेशलाई कसैले अवज्ञा गर्छ भने त्यो सजायको भागिदार हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्