क्वारेन्टाइनमा राखिएका एक पुरुषको गयो ज्यान !


भारतको हैदराबादबाट केही समय अघि नेपाल फर्किएका एक व्यक्तिको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको छ । मृतकको स्थायी ठेगाना कास्कीको रुपा गाउँपालिका रहेको अस्पतालले जनाएको छ । मृतक लामो समयदेखि मुटुको रोगले थलिएका थिए । मृतकलाई हिजोदेखि रुपा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।

गाउँपालिका अध्यक्ष नवराज ओझाका अनुसार मृतक लामो समयदेखि मुटुको रोगी थिए । उनको कलेजोमा पानी जमी राखेको सुन्नमा आएको उनले सुनाए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार उनलाई अस्पताल ल्याउनुअघि नै मृत्यु भई सकेको थियो ।

डा. आचार्यले कोरोना भाइरसको संक्रमण भए नभएको भने पुष्टि नभएको बताए । ‘परिक्षणका लागि प्रदेश ल्याबमा पठाएका छौं,’ उनले भने, ‘कोरोना नै भएको भनेर भन्न मिल्दैन । ल्याबको रिपोर्टपछि नै थाहा हुन्छ ।’ यता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर बुद्धिबहादुर थापा भने प्रदेशमा कोरोना ल्याब टेष्ट मेसिन नभएकाले काठमाडौं पठाउनु पर्ने बताउँछन् ।’

‘सरकारले हाम्रो प्रदेशलाई पनि टेस्ट मेसिन दिने निर्णय त गरेको छ,’ उनले भने, ‘तर, आईसकेको छैन । कोरोना भएको हो कि होइन भनेर जाँच्न काठमाडौं मै पठाउनु पर्छ । लक डाउनले गर्दा पनि मेसिन आउन ढिला भई रहेको छ । सकेसम्म चाँडै आउँला मेसिन ।’